गृहपृष्ठ भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ विधि विज्ञान प्रयोगशाला पठाइयो

भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ विधि विज्ञान प्रयोगशाला पठाइयो

दोगडकादार गाउँपालिका- ७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए । ‘घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ,’ उनले भने । डीएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमुना संकलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शंका लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डीएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।’

शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ,’ उनले भने ।

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । ‘वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्ने कुरै हुँदैन,’ उनले अडान राखे ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका- ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन

प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ । दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जंगल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।

किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छ । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए । समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि र्‍यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ । (रासस)

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु