गृहपृष्ठ शुक्रबारदेखि पुन: वर्षा र हिमपातको सम्भावना

शुक्रबारदेखि पुन: वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले आज बागमती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ,’ उनले बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो बागमती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु