गृहपृष्ठ सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ

सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज  आयोजित दोलखाली पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने स्पष्ट पारे ।

सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको मन्त्री गुरूङको भनाइ छ । ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो,’ मन्त्री गुरुङले भने, ‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’ उनले पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कुनै निर्देशिका बनाउन लागिएको होइन,’ उनले भने ।

मन्त्री गुरुङले फेसबुक, ट्वीटर, युट्युब, भाइबर, इमो, ह्वाट्सअप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटकलगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधजस्ता अप्रिय घटनमा कमी आउने उद्देश्यले मात्र नियमन गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पारे । मुलुकलाई सूचना प्रविधिको हिसाबले स्मार्ट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार शनिबार दोलखाबाट उक्त अभियान सुरु गर्ने नीतिगत निर्णय गरेकोसमेत उनले जानकारी दिए ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु