गृहपृष्ठ बन्दमा ‘बम पड्काउन हिँडेका’ दुई जना पक्राउ

बन्दमा ‘बम पड्काउन हिँडेका’ दुई जना पक्राउ

कहाँ के भयो ?

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको असर काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा परेको छ । आफ्नो प्रभाव र डर कायम राख्न सो पार्टीले ठाउँ–ठाउँमा बम राखेको छ । प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राजधानीमा फेला परेका ५ वटा प्रेसरकुकर बम निष्क्रिय पारिएको छ ।

जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका आफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’लाई रिहाइको माग गर्दै नेकपा गरेको बन्दमा विभिन्न स्थानमा बम फेला परेका थिए । काठमाडौँको सुन्दरीजल स्थित नयाँ पार्टीमा बिहान प्रेसरकुकुर बम फेला परेको थियो । उक्त बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा फेला परेको शंकास्पद वस्तु फेला परेपछि निष्क्रिय पारेको थियो । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङ अगाडि भेटिएको उक्त बस्तु प्रेसरकुकर बम भएको प्रहरीले जनाएको छ । उक्त बम पनि बिना कुनै क्षति डिस्पोज गरिएको परिसरका प्रमुख विश्वराज पोख्रेलले जानकारी दिए । बल्खुस्थित खसीबजार र नागढुंगामा पनि बम फेला परेको छ ।

महानगरीय प्रहरी परिसरले राजधानीको शान्ति सुरक्षा मज्बुद रहेको जनाएको छ । अहिलेसम्म कुनै क्षति नभएको भन्दै प्रहरीले सुरक्षाका लागि आफ्नो उपस्थीतिलाई बाक्लो बनाएको छ । नेपाल प्रहरीले मात्रै राजधानीको मुख्य चोक र गल्लीहरुमा २ हजारको संख्यामा प्रहरी खटाएको एसएसपी पोख्रेलले जानकारी दिए ।

प्रहरीेले शंकास्पद दुई जना ब्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट बम बनाउन प्रयोग गरिने विस्पोटक पदार्थहरु पनि बरामद भएको जनाइएको छ । उनीहरु विप्लव माओवादीका कार्यकर्ता हुन् ।

देशका मुख्य शहरबजारमा प्रहरी बाक्लोरुपमा परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिए । कतिपय स्थानमा सक्कली बम भएपछि राजधानीका विभिन्न स्थानमा फेला परेको बम नक्कली भएको प्रवक्ता थापाले न्युज कारोवारलाई बताए ।

जिल्लामा कहाँ के भयो ?

चितवनमा बिहानै केही स्कुल बस र ट्रकमा आगजनी गरिएको छ । केही ठाउँमा फेला परेको छ । त्यसक्रममा नेकपाका केही कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । बन्दले बिहानैदेखि यातायात सेवा प्रभावित बनेको छ ।

यता, अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षा जाँचका क्रममा प्रहरीले अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई पक्राउ गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । मंगलबार विहान काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको हो ।

नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ । मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए । नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकामा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको छ ।

उता, झापामा भने बन्द असर कम परेको छ । अहिलेसम्म बम फेला परेको वा तोडफोडको कुनै जानकारी प्राप्त नभएको र जनजीवन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु