गृहपृष्ठ अठहत्तर महिला हराए
अठहत्तर महिला हराए
कञ्चनपुरका तीन नगरपालिका क्षेत्रबाट आ.व. ०७४/७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् ।
बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, ‘अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।’ सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् ।
अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भने । ‘बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन्,’ अवस्थीको भनाई थियो । हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उनको भनाइ छ ।
सोही अवधिमा तीनवटै नगरपालिका क्षेत्रका ११ जना बालबालिका हराएकामा नौ जना फेला परेका छन् । दुई जना अझै फेला परेका छैनन् । हराउने बालबालिका १४ देखि २० वर्ष उमेर समूहका बढी रहेका छन् । हराएका महिला र बालबालिका परिवारको सम्पर्कमा पुगे पनि प्रहरीलाई खबर नगर्दा संख्या धेरै देखिएको बताइएको छ ।
-रासस
प्रकाशित समय १९:३१ बजे

















