गृहपृष्ठ प्रधानमन्त्रीले भने- सरकार महान अभियानमा जुटेको छ
प्रधानमन्त्रीले भने- सरकार महान अभियानमा जुटेको छ
समृद्ध मुलुक बनाउने अभियानमा सरकार– अध्यक्ष प्रचण्ड
धनुषामा शनिबार अायाेजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष अाेली एवं नेकपाकै अर्का अध्यक्ष प्रचणड । तस्बिर : रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भभने, ‘गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।’ उनले संघर्ष होइन, मुलुकको गरिबी हटाउन र समृद्धिमा जुट्न सबैसँग आग्रह गरे ।
व्यावहारिकरुपमा मुलुकको गरिबी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिने बताए ।
उनले प्रदेश नं २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, काठमाडौं तराई द्रुतमार्ग निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्न आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनका बिलम्व गर्न नहुने बताए ।
उनले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदानमात्र पुर्याइरहेकामा यो प्रतिशत बढाउन सिँचाइ र कृषिको आधुनिकीकरण गरिने बताए । उनले तराई–मधेश भएर बग्ने ठूलठूला नदी जस्तै कोशी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘मधेसको उर्वर भूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न तथा फलफूल विदेश निर्यात गर्न सकिए छिट्टै समृद्ध हुन्छ ।’ कोशी नदीमा पानीजहाज चलाएर कलकताबाट समान ल्याउने सरकारको योजना रहेको उल्लेख गर्दै उनले नेपालको झण्डा फरफराएर हिँडेको पानीजहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने दावी गरे ।
समृद्ध मुलुक बनाउने अभियानमा सरकार : प्रचण्ड
सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षभित्र समृद्ध नेपाल बनाउने अभियानलाई ध्यानमा राखेर सरकार अघि बढेको बताए । उनले भने, ‘हामीलाई चुनाव जित्नु र हार्नुभन्दा पनि देश र जनतालाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको पाँच वर्षभित्र जनताको समृद्धको सपना पूरा गर्नेछौं ।’
प्रदेश नं २ अन्य प्रदेश भन्दा उत्कृष्ट र समृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने जिकिर गर्दै प्रचण्डले मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष ‘प्याकेज’ ल्याइएको स्पष्ट पारे ।
- रासस
प्रकाशित समय १९:५० बजे

















