गृहपृष्ठ यसकारण अड्कियो नेकपाको प्रदेश र जिल्ला तहकाे एकता

यसकारण अड्कियो नेकपाको प्रदेश र जिल्ला तहकाे एकता

nepkapa-newskarobar

 

एकताको मोडालिटीसहितको प्रतिवेदन बुझाउन नसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश तथा जिल्ला कमिटी एकता प्रक्रिया अझै लम्बिने भएको छ । धेरैजसो प्रदेश र जिल्ला तहले अझै प्रतिवेदन तयार गर्न नसक्दा तल्ला कमिटी एकता अनिश्चित बनेको हो ।

सबै प्रदेश र जिल्ला कमिटिको समायोजनको लागि कार्यदल गठन गरिए पनि केन्द्रीय कार्यालयमा प्रतिवेदन नबुझाएकाले ‘एकता कहिलेसम्म हुन्छ’ भन्ने अन्योल देखिएको छ । सुरुमा केन्द्रमा एकता भएको तीन मिहनाभित्र सबै तहमा एकता हुने भनिएको थियो । जेठ ३ गते केन्द्रमा एकता भएपछि साउनभित्र सबै एकता हुने भनिएको थियो ।

सो मितिले तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेका जिल्ला र प्रदेश कमिटिका सदस्यहरुलाई गएको साउन भित्र समायोजन गर्ने कार्यसूची थियो ।

तर, अन्तमा त्यो हुन नसक्ने भएपछि नेकपाको केन्द्रले साउन मसान्त (गएको बिहीबार)सम्म प्रतिवेदन बुझाउन समय तोकेको थियो । सो समयभित्र पनि जिल्ला र प्रदेशले तत्कालीन दुवै दलका सदस्यहरु कति संख्या कमिटीको नेतृत्वलगायतका विषयमा कुरा मिल्न नसक्दा प्रतिवेदन बुझाएका छैनन् । ‘सबै प्रदेशले केन्द्रमा प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेर दुवै संगठनलाई समायोजन गर्नेछौं,’ स्थायी समिति सदस्य बेदुराम भुसालले भने ।

अहिलेसम्म प्रदेश ५ र कर्णाली प्रदेशको प्रतिवेदन मात्र केन्द्रीय कार्यालयमा प्राप्त भएको उनले बताए । प्रदेश ५ ले सो प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष, सचिव, सचिवालय सदस्य र जिल्ला सदस्यसहितको सम्पूर्ण विवरण सर्वसम्मत निर्णय गरी बुझाएको छ । प्रतिवेदन अध्यनको क्रममा रहेको र सबै प्रदेशले आफ्ना मातहतका जिल्लाको प्रतिवेदन बुझाएपछि तल्ला कमिटीको एकता हुने जनाइएको छ । उता कर्णाली प्रदेशले भने प्रदेश सदस्यमा प्रस्तावित नेताहरूको नामको मात्र टुंगो लगाएर केन्द्रीय कार्यालयमा बुझाएको छ ।

प्रदेश ५ को कार्यदल तहले नै जिल्ला तहका सबैजसो विषय टुंगो लगाई बिहीबार महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाएको छ । १२ जिल्लामध्ये ७ जिल्ला पूर्वएमाले र ५ जिल्ला पूर्वमाओवादीले नेतृत्व गर्ने गरी सचिव, सचिवालय सदस्य र जिल्ला सदस्यको नाम सर्वसम्मतिमा टुंग्याएर केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाइएको छ ।

प्रदेश १, २, ३, गण्डकी र ७ ले भने अहिलेसम्म जिल्ला तथा प्रदेश कुनैको पनि प्रतिवेदन बुझाएका छैनन् । संगठन संरचना, नेतृत्वलगायतका विषयमा अझै सहमति नहुँदा बुझाउन नसकिएको बताईन्छ । नेकपाका नेता तथा प्रदेश एकका तत्कालीन एमालेका प्रदेश संयोजक भिम आचार्यले भने प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको दावी गरे । ‘प्रदेश १ का सबै जिल्लाको एकता कसरी गर्ने भन्ने विषय मोटामोटी तयार भएको छ, प्रतिवेदन बुझाउने तयारीमा छौं,’ उनले भने, ‘प्रतिवेदन केन्द्रले अध्ययन गरेपछि तत्कालै प्रदेश र जिल्ला कमिटी एकता अघि बढ्छ ।’ नेता आचार्यले मोटामोटी सबै विषयको टुंगो लागेको बताए पनि भोजपुर, धनकुटालगायत जिल्लाको बाँडफाड र नामको टुंगो लगाउन नसक्दा प्रतिवेदन तयार पार्न नसकिएको स्रोतको दावी छ ।

प्रदेश २ ले भने जनकपुरमा शनिबार छलफल गरेको छ । सहिद रामवृक्ष यादवको स्मृती सभामा सहभागी हुन नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर गएको सन्दर्भमा छलफल भएको छ । छलफलमा अध्यक्ष द्वयले प्रदेशभित्रका ८ वटै जिल्लामा बराबरीका आधारमा बंँडफाटको टुंगो लगाउन सुझाएका छन् । प्रदेश २ ले सोही अनुसारको प्रतिवेदन तयार गरी केन्द्रमा पठाउने बताईन्छ ।

प्रकाशित समय १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु