गृहपृष्ठ निर्मला हत्या प्रकरण : प्रहरीले नै प्रमाण नष्ट गरेको खुलासा
निर्मला हत्या प्रकरण : प्रहरीले नै प्रमाण नष्ट गरेको खुलासा
बम दिदीबहिनीद्वारा अाराेप अस्वीकार
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको प्रमाण प्रहरीले नष्ट गरेको आफ्न्तले बताएका छन् । शव भेटिएको उखुबारीमा जमेको पानीमा निर्मलाले लगाएको कपडा प्रहरीले पखालेर प्रमाण नष्ट गरेको उनीहरुको दाबी छ ।
बलात्कारपछि कपडामा वीर्य र रगत रहेकाले सो प्रमाण नष्ट गरिएको भिडियो आफूहरुले खिचेर राखेको निर्मलाका मामा केशव भण्डारीले बताए । प्रहरीले बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई जोगाउन सुरु देखि नै प्रमाण नष्ट गरेको उनले बताए ।
कपडामा रहेको वीर्य र रगतबाट अपराधी पक्राउ गर्न सहज हुने भएपनि प्रमाण नष्ट गरेकाले ढिलाई भएको स्थानीयको भनाइ छ । वास्तविक हत्यारालाई जोगाएर निर्दोषलाई पक्राउ गरेको विरोधमा स्थानीय आन्दोलित भएपछि सरकारले उच्चस्तरीय समिति बनाएर अहिले सुरु देखि नै अनुसन्धान गरिरहेकाे छ ।
अनुसन्धानको लागि रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको छ । उनीहरुलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले बिहिबार आदेश दिएको छ । यसअघि ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । निर्मलाको हत्यामा बम दिदीबहिनीको संलग्नता रहेको आशंका गरिएको छ ।
तर, बयानका क्रममा रोशनीले आफूको संलग्नता नरहेको बताएकी छिन् । जिल्ला सरकारी कार्यालयमा लिइएको बयानमा रोशनीले निर्मलाको हत्यामा आफ्नो र दिदी बबतिको संलग्नता नरहेको बताएकी हुन् ।
यसअघि, प्रहरीले निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राय गरी सार्वजनि गरेको थियो । स्थानीयले विष्ट निर्दोष र मानसिक सन्तुलन ठिक नभएको बताएपछि उनको स्वास्थ्य परिक्षण गर्न काठमाडौं ल्याइएको छ । प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए।
अनुसन्धानमा लापरबाही भएको भन्दै आन्दोलन चर्केपछि गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खड्कालाई हेडक्वाटर तानेको छ भने विष्टलाई निलम्बन गरेको छ ।
गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।
प्रकाशित समय १०:४७ बजे