गृहपृष्ठ सरकार र यातायात मजदूरबीच सहमति
सरकार र यातायात मजदूरबीच सहमति
आन्दोलनरत यातायात मजदूर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदूर गाडी चलाउन तयार भएका हुन् ।
मजदुरको आन्दोलनका कारण शुक्रबार पूर्व तथा पश्चिम चल्ने लामो दूरीका सवारी चल्न सकेका थिएनन् । अरु ठाउँमा लामो यात्रा तय गर्दै जाने सवारी समेत कम चलेका थिए ।
मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा उत्रिएका मजदुरले स्वतन्त्र सवारी चालक संघर्ष समितिको नामबाट गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा विज्ञप्ति पठाएको थियो ।
वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालका अनुसार ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।
सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कार्बाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ । सहमतिसँगै लामो दुरीका रात्री बसहरु गुड्न थालेका छन् ।
प्रकाशित समय १८:१९ बजे

















