गृहपृष्ठ वन सम्पत्ति हो भने काठ किन्न अर्बौ रकम विदेश किन पठाउने ?
वन सम्पत्ति हो भने काठ किन्न अर्बौ रकम विदेश किन पठाउने ?
तर, वन हाम्रा लागि आकाशको फल बन्यो
हरियो वनलाई नेपालको धन मानिन्छ । तर, काष्ठ तथा फर्निचर उद्योगमा संलग्न उद्योगी व्यवसायी भने हरियो वन नेपालको धनको रुपमा प्रयोग हुन नसकेको गुनासो गरिरहेका छन् । बरु वनको उचित प्रयोग नहुँदा नेपालको अर्बौ रुपैयाँ विदेशिएको उनीहरुको दाबी छ । यता सरकार भने वन प्रयोगको नाममा विनाश हुने शंकाले वनसम्बन्धी नियमलाई ‘टाइट’ बनाएर बसेको छ । यस्तो अवस्थामा वन पनि विनाश नहुने र यसको उचित प्रयोग पनि गर्न सकिने उपाय के हुन सक्छ भन्नेबारे नेपाल फनिर्चर तथा फर्निसिङ संघ नेपालका अध्यक्ष राजेश अग्रवालासँग सञ्जय श्रेष्ठले कुराकानी गरेका छन् ।
नेपालमा फर्निचर उद्योगको अवस्था कस्तो छ ?
हामी फर्निचर विदेशबाट ६०/७० प्रतिशत आयात गर्छौैँ । बाँकी नेपालमा उत्पादन गर्ने हो । जति राम्रो हुनु पर्ने हो, त्यती राम्रो छैन । हामीले सजिलै रुपमा कच्चा पर्दाथ पाउन सकिरहेको छैनौँ । हामीसँग दक्ष जनशक्ति पनि छैन । हाम्रा लागि मुख्य समस्या भनेको कच्चा पदार्थको अभाव नै हो । आवश्यकताअनुसार दक्ष कामदार नहुँदा अर्को समस्या छ । नियम र कानुन पनि फर्निचर मैत्री छैनन् । भएको कानुनअनुसार पनि फर्निचर उद्योगले चल्न पाएको छैन ।
फर्निचर उद्योग र व्यवसायका लागि स्पष्ट नीति चाहियो भन्नुहुन्छ, कस्तो खालको नीति नियम चाहिएको हो तपार्ईंहरुलाई ?
पहिलो कुरा, नेपाल सरकारसँग फर्निचर उद्योगसम्बन्धी स्पष्ट नीति छैन । फर्निचर उद्योगका लागि काठ चाहिन्छ । किनकि, फर्निचर उद्योग संचालनको सबैभन्दा पहिलो सर्त काठ हो । तर, हामीलाई सरकारले काठ खरिदको लागि सिधा टेन्डर गर्न दिँदैन । काठको टेन्डर समिलले गर्छ । हामीले समिलबाट काठ किन्दा महँगो हुन्छ । पुरानो काठ एक जिल्लाबाट अर्को जिल्लामा लान पनि बन्देज छ । हामीलाई आवश्यकता अनुसारको काठ खरिद गर्न अधिकार दिनुपर्छ ।
हामीले पनि काठको टेन्डरमा सहभागीता जनाउन पाउनुपर्छ । वनसम्बन्धी हरेक बैठक तथा गोष्टिहरुमा हामीलाई पनि सहभागी गराउनुपर्छ भन्ने हाम्रो माग हो । विद्यमान नियम कानुनलाई परिवर्तन गरी फर्निचर उद्योगमैत्री नियम कानुनको निर्माण गर्नु पर्छ भन्ने आवाज हामीले उठाइरहेका छौँ । हामीलाई फर्निचर उद्योग संचालनका लागि कच्चा पर्दाथको अभाव छ ।
हामीले अहिले नेपालमा काठ भएर पनि पाएका छैनौं । भएर नपाउनु र नभएर नपाउनुमा धेरै फरक हुन्छ । हामीले यसबारे धेरै पटक वन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौं । जति पटक हामीले ज्ञापन पत्र बुझाएका छौं, त्यती पटक सकारात्मक जवफ पाएका छांै । यसअघि छिटो–छिटो गरी सरकार परिवर्तन भइरहने समस्याले हाम्रा माग थाँती रहे । अहिलेका मन्त्रीलाई पनि हामीले ज्ञापन पत्र बुझाएका छौं । आशा छ, उहाँले हाम्रा माग सम्बोधन गरिदिनुहुनेछ ।
नेपालको बजारमा स्थानीय फर्निचर उद्योगको हिस्सा कति छ ?
नेपालमा स्थानीय फर्निचर उद्योगको हिस्सा ३०/४० प्रतिशतको हाराहारीमा मात्र छ ।
यो त न्यूनतम भएन र ?
हो यसलाई न्यूनतम मान्न सकिन्छ ।
किन त ?
मैलै अघि नै पनि भनेँ, हामीसँग पर्याप्त कच्चा पर्दाथ र दक्ष जनशक्ति नै छैन । हामीसँग भएको काठ पनि फर्निचर उद्योगले पाएको छैन । कुहिएर जान्छ, हामीले प्रयोग गर्न पाउँदैनौँ, किन्छु भन्दा पनि किन्न पाउँदैनौँ । यसरी अर्को देशबाट किनेर ल्याउनुपर्छ । गत आर्थिक बर्षमा मात्र ६ अर्बभन्दा बढी मूल्य तिरेर हामीले कच्चा पदार्थ खरिद गर्यौँ । नेपालका सबै सरकारी कार्यालयमा स्थानीय फर्निचर प्रयोग गर्ने भन्ने नियम छ । तर, यो पनि कार्यान्वयन भएको छैन । हामीलाई सरल र सुलभ मूल्यमा कच्चा पदार्थ उपलब्ध गराउने हो भने हामी ७०-८० प्रतिशतको हाराहारीमा पुर्याउन सक्छौं । विदेश जाने पैसा रोक्न सक्छौँ ।
विदेशबाट कस्ता खालका सामाग्री कति आयात गरिन्छ ?
खासगरी चीनबाट बढी सामान आयात हुन्छ । चीनमा समान सस्तो हुने भएकाले हामी त्यहाँबाट ल्याउँछौँ । सस्तो चिजको गुणस्तर पनि कम हुन्छ । हेर्दा आकर्षक हुन्छ, तर नेपाली काठबाट बनेजस्तो मजबुत हुँदैन । ६० प्रतिशतभन्दा बढी सामान आयात हुँदा सबै किसिमका सामान आयात हुन्छ । किनकि, हामीले स्थानीय उत्पादनमा कुनै पनि सामानको माग अनुसारको सप्लाइ गर्न सकेका छैनौं ।
नेपालमा स्थानीय फर्निचर उद्योगको सम्भावना कस्तो छ ?
नेपाालमा स्थानीय फर्निचरको धेरै राम्रो सम्भावना छ । आज हामी जति छौं धेरै संघर्ष गरेर बाँकी रहेकाहरु छौँ । हामीले कच्चा पदार्थ सरल तथा सहज रुपमा पाउने हो र कानुनले पनि फर्निचर व्यवसायीलाई प्रोत्साहन गर्ने हो भने मुलुकको आर्थिक समृद्धिमा हाम्रो योगदान अझै बढ्नेछ । पहिले मानिसहरुले फर्निचरको प्रयोग बिलासिताको लागि प्रयोग गर्थे । तर, हिजोआज फर्निचर भनेको अत्यावश्यक भइसकेको छ ।
मानौँ, सरकारलाई तपाईंहरुलाई कच्चा पदार्थ यही उपलब्ध गराउने भयो । तर, भविष्यमा त्यही बहानामा वन त मासिन्छ नि !
हाम्रो चाहाना वनजगंल मास्ने हैन । हामी पनि चाहन्छौँ हरियाली । तर, हामीसँग भएका र खेर जान लागेका काठको यथोचित प्रयोग गरौँ भन्ने हाम्रो भनाइ हो । यसका लागि हामीले सिधा रुपमा काठ खरिद गर्न पाउनुपर्छ भन्ने हो । यसो गरियो भने जंगल मासिने होइन जोगिन्छ । हामी अहिले समिलसँग काठ किन्न बाध्य छौं । उनिहरुले हामीलाई आफ्नो इच्छा अनुसार काठ बेच्ने गर्छन् ।
सबै फर्निचर उद्योग तथा व्यवसायीहरू करको दायरामा आएको देखिँदैन नि ?
तपाईं आज भक्तपुर तथा अन्य ठाँउहरुमा पनि हेर्न जानु भयो भने त्यहाँ सानो–सानो स्केलमा अर्थात् एउटा परिवारले फर्निचर व्यवसाय संचालन गर्दै आएको छ । उनीहरुलाई करको दायरामा ल्याउनका लागि हामीले पनि बारम्बार सम्बन्धित निकायमा भनी रहेका छौं । अहिलेसम्म कर्मचारी राखेर व्यवसायिक रुपमा व्यापार गरिरहेकाहरुले मात्रै कर तिर्ने गरेका छन् । सरकारले फर्निचर व्यावसायीहरुलाई आनिवार्य रुपमा भ्याटमा जानुपर्ने व्यवस्था गरेको छ । नगए त्यस्ता व्यवसायीले सामान बेच्न पाउँदैनन् । फर्निचर व्यवसायमा सानो–सानो स्केलमा गर्नेले मात्र तिरेको हुँदैन । नेपाल फर्निचर तथा फर्निसिङ संघमा आबद्ध भएका सबैले भ्याट तिरेका छन् । आखिर सानै फर्निचर उद्योगले पनि व्यापार नै गर्ने हो ठूलाले पनि व्यापार नै गर्ने हो । त्यसैले सबैलाई करको दायरामा ल्याउने काम त सरकारको हो ।
कतिपय फर्निचर उद्योग र व्यवसायी करको दायरामा आउनै चाहेनन भन्ने गुनासो त छ नि ?
त्यसरी फर्निचर व्यवसाय गर्ने सम्भावना अहिले छैन । हामीले एउटा सामान बेचेर भ्याट बिल दिएनौं भने बाटोमा नै पुलिसले सामान समात्छ । भ्याट खोज्छ । अनि कसरी हामीले कर नतिरेको भन्न सुहाउँछ ?
हरियो वन नेपालको धन भनिन्छ, तर फर्निचरका लागि कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने स्थितिलाई उद्योगीहरुले कसरी लिएका छन् ?
यो हरियो वन नेपालको धनलाई अब विद्यार्थीलाई स्कुलमा निबन्ध लेख्न मात्र काम लाग्छ । यो व्यवहारमा छैन । मैले पनि एसएलसी दिँदा यसको बारेमा निबन्ध लेखेर पास भएको हुँ । अझै पनि बच्चाहरुले लेखिरहेका छन् । समय परिस्थिति अनुसार सबै बदलिइको छ । तर, हामी उद्योगी व्यवसायीहरुको त अहिले पनि यही हो की हामीले कच्चा पदार्थ सरल र सुलभ रुपमा पाउनुपर्छ । हाम्रो पैसा विदेश नजाओस् हामीले सरकारलाई बढीभन्दा बढी राजस्व तिरेर देशको विकासमा सहयोग पु¥याउन सकौँ । पहिले फर्निचर हातबाट मात्र निर्माण हुन्थ्यो । अहिले मेसिनको प्रयोग पनि भएको छ । संसारका सबै किसीमका फर्निचर बनाउने तयारीमा हामी छौं । अत्याधुनिक प्रविधिकोे प्रयोगबाट फर्निचरको निर्माण थालीसकेका छौँ ।
फर्निचर तथा फर्निसिङ व्यवसायमा लगानीको अवस्था कस्तो छ ?
यो व्यवसायमा मोटामोटी ३५ देखि ४० अर्बको लगानी छ । हामीसँग ठ्याक्कै डाटा त छैन तर हामीले यो मोटामोटी रुपमा गरेको मूल्याङ्कन हो ।
हिजोआज त काठे फर्निचरको साटो स्टिल, प्लास्टिक, आल्मुनियमको उत्पादन र प्रयोग बढेको छ, यसले काष्ठजन्य उद्योग तथा व्यवसायमा कस्तो खालको असर पारेको छ ?
पलाष्टिक र आल्मुनियमले गर्दा केही सहज भएको छ । यो सस्तो पनि छ । सरल पनि छ । तर, यसले हाम्रो फर्निचरमा केही असर परेको छैन । किनभने आज पनि कुनै अफिस, घर वा कुनै पनि ठाउँमा काठको प्रयोगमा कमी भएको छैन । स्टिल र पलास्टिको फर्निचरले केही सजिलो त भएको छ तर यसले काठको फर्निचरलाई प्रतिस्थापन गर्न सक्दैन र गरेको पनि छैन । यसले त बरु हाम्रो कन्जम्सन बढाएको छ ।
नेपाल फर्निचर तथा फनिर्सिङ संघले आयोजना गरेको फर्निचर एक्स्पोसम्बन्धी केही बताइदिनुस न ।
काठमाडौँको भृकुटीमण्डपमा असोज ४ गतेबाट एक्स्पो सुरु भएको छ । एक्स्पो यही असोज ८ गतेसम्म चल्नेछ । यो हाम्रो छैटौं मेला हो । यसअघिका सबै मेला हामीले बन्द कोठाभित्र गर्यौँ । तर, यसपटक खुल्ला रुपमा गरेका छौँ । यसपटक भित्र ब्रान्डिङ र बाहिर डूम राखेर मेला आयोजना गरेका छौँ, ताकी कुनै पनि मानिसले मेलामा आएर केही किनेर लान चाहेको खण्डमा तत्काल किनेर लान पनि सकोस् । विगतका मेलामा साथीहरुले बुकिङ मात्र गर्थे, क्यासमा कारोबार हुँदैन थियो । यसपटक अवलोकनकर्ताहरुले चाहेको सामान तत्कालै किनेर लान सक्छन् । विद्यार्थीहरुलाई इन्ट्री फ्री छ । व्यवसायीहरुलाई पनि फ्री इन्ट्री छ तर उनिहरुले आफ्नो कार्ड भने देखाउनु पर्नेछ । अरुलाई ५० रुपैयाँ टिकट लाग्ने छ । टिकटको व्यवस्था चाहिँ हामीले अवलोकनकर्ताहरुको व्यवस्थापनलाई सहज बनाउनका लागि गरेका हौँ ।
कति अवलोकनकर्ताको अपेक्षा छ ?
मोटामोटी ७५ हजारले मेला अवलोकन गर्ने हाम्रो अपेक्षा छ ।
प्रकाशित समय १७:५८ बजे

















