गृहपृष्ठ जनकपुरमा सुरु भयो दसैंको रौनक
जनकपुरमा सुरु भयो दसैंको रौनक
नेपालीहरुको मुख्य पर्व दसैंको रौनक प्रदेश २ को राजधानी जनकपुरमा पनि सुरु भएको छ । बजार तथा पसलमा किनमेल र भीडभाड बढेको छ भने सडक तथा चोक सजाउने क्रम बढेको छ ।
दसैंलाई स्वागत गर्न जनकपुरका विभिन्न क्लब, संघसंस्था, युवा, व्यापारी तथा व्यवसायी जुटेका छन् । विगतमा झैं दसैंलाई स्वागत गर्न लाखौं खर्च गरेर जनकपुर सजाइन थालेको छ । सडक नै ढाकेर स्वागतद्वाराहरु निर्माण गरिएका छन् भने व्यापारीहरुले बजार क्षेत्र झकिझकाउ पारेका छन् ।
सडक अतिक्रमण गरेर बनाएका स्वागतद्वारा प्रहरीले हटायो
धनुषा प्रहरीले दुर्गा पूजाका लागि भन्दै सडक नै अतिक्रमण गरी बनाएका टेन्ट भने हटाएको छ । जनकपुरको वशिष्ट चोकमा दुर्गा पूजाका लागि बनाइएको टेन्ट र स्वागतद्वारा प्रहरीले हटाएको हो । सडकमा आवतजावत नै अवरुद्ध हुनेगरी टेन्ट तथा गेट राखेकाले हटाउनुपरेको प्रहरीले जनाएको छ ।
पक्की कालोपत्रे सडक फोडेर बाँसको स्वागतद्वार बनाएको पाइएपछि हटाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । ‘सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गरी सडक फोडेको र सडक अवरुद्ध हुनेगरी गेट बनाएको पाइएपछि हटाएका हौं,’ उनले भने ।
प्रकाशित समय १६:४५ बजे

















