गृहपृष्ठ उदयपुरकी एक महिलाको रहस्यमय मृत्यु, छानविनमा प्रहरीको लापरबाही !

उदयपुरकी एक महिलाको रहस्यमय मृत्यु, छानविनमा प्रहरीको लापरबाही !

प्रहरी भन्छ- हामीले पटक-पटक जानकारी गराएका छौँ

उदयपुर बेलका नगरपालिकाकी ३१ वर्षीया प्रकृति राईको रहस्यमय मृत्युको छानविनमा प्रहरीले लापरबाही गरेको आरोप पीडित पक्षले लगाएको छ । मृतक राईका माइती पक्षले घटनालाई प्रहरीले गम्भीर रुपमा नलिएको बताएको छ ।

बेलका नगरपालिका वडा नम्बर ८ की प्रकृति गत असोज १३ गते कपनस्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । कपनमा उनी आफ्ना श्रीमान प्रकाश खत्रीसँग बस्दै आएकी थिइन् । प्रकृतिकी बहिनी बिना राईले आफ्नी दिदीले आत्महत्या नगरी उनको हत्या भएको बताइन् । प्रकृतिकै श्रीमानमाथि कडाइका साथ छानविन गर्न उनले माग पनि गरिन् ।
‘उनले दोस्रो विवाद पनि गरेका रहेछन्,’ मृतकका दाई सुकमान राईले भने, ‘पहिले पनि उनले मेरी बहिनीलाई शारिरीक यातना दिने, मार्ने धम्की दिने गरेका बहिनीेले मलाई सुनाउथी । प्रहरीमा उजुरी दिनू भन्दा आफ्ना श्रीमान हुन् सुध्रिएलान् भन्थी ।’

प्रहरीमा किटानी जाहेरी दिन जाँदा उल्टै पीडक भनिएकालाई सहयोग मिल्ने गरी बनाइएको मुचुल्का रिपोर्टअनुसार लेखी हस्ताक्षर गराइएको उनको दाबी छ । ‘आफूले चिनेको वकील थिएन, अरु कोही चिनेको मान्छे पनि थिएन,’ उनले भने, ‘प्रहरीले नै फोन गरिदिएको वकीलसम्म गएर जाहेरी लेखाएको हामीलाई चित्त नबुझेको मुचुल्काअनुसार उसले लेखिदियो ।’
प्रकृति बस्दै आएको कोठाका छिमेकीले पनि आत्महत्या नभइ हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

प्रकृतिका श्रीमानका दाई दीपक खत्रीले भने प्रहरीले सुरुमा आफूहरुलाई घटनास्थलमासमेत जान नदिएको बताए । प्रहरीले लास उठाएर एम्बुलेन्समा हालेपछिमात्रै आफूलाई कोठमाभित्र छिर्न दिएको उनको भनाइ छ ।

यता, बौद्ध प्रहरीले भने पीडित पक्षलाई घटनाको जानकारी गराउँदा पनि आउन ढिलाइ गरेको बताएको छ ।

मृतकका श्रीमान प्रकाश खत्री र उनकी कान्छि श्रीमती अहिले प्रहरी हिरासतमा छन् ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु