गृहपृष्ठ फेक आगलागीले प्रहरी हैरान, रातभर घुम्यो दमकल
फेक आगलागीले प्रहरी हैरान, रातभर घुम्यो दमकल
हल्लाको सिकार बने दोलखाका विनोद
बुधबार राति पौने ८ बजे, महानगरीय प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुमको हटलाईन नम्बर १०० मा एउटा सूचना आयो– ‘दिपावली गर्ने क्रममा बिजुलीबजारको एक घरमा आगलागी भयो ।’ आगलागीको सूचना पाएलगत्तै प्रहरी परिसरले महानगरीय प्रहरी वृत्त वानेश्वरलाई सर्कुलर जारी गर्यो ।
तीनकुने वृत्त, अनामनगरलगायत प्रभागबाट प्रहरी बिजुलीबजार पुगे । अन्य सुरक्षाकर्मी तथा आगो नियन्त्रकसमेत बिजुलीबजार पुगे । ५–७ मिनेटको अन्तरालमा करिब ५० जनाको संख्यामा विजुलीबजार क्षेत्रमा प्रहरी भेला भए । छिनभरमै काठमाडाैं महानगरपालिकाको दमकल बिजुलीबजार पुग्यो ।
दिपावलीको समयमा रातको ८ मात्र बजेकोले सडकमा सवारीको चाप कम भइसकेको थिएन । बाक्लो वस्ती काठमाडाैंमा आगलागी भएपछि समयमै नियन्त्रणमा नआए ठुलो चुनौती हुन सक्ने पीर प्रहरीलाई थियो । आगो धेरै फैलँदा क्षति बढी हुने र अन्य घरमा फैलने खतरा थियो । दमकल ठूलो आवाजमा सार्ईरन बजाउदै ८ बजे विजुली बजार पुग्यो । बबरमहल र बानेश्वर जोड्ने पुल तरेपछि दमकल बजुलीबजारतर्फ मोडियो । आगलागी भएको ठाउँ खोज्दै दमकल गल्ली–गल्ली घुम्यो ।
आगलागी भएको ठाउँ नभेटेपछि प्रहरीले स्थानीयसँग सोध्यो तर कसैले आगो लागेको थाहा नभएको बताए । घटनास्थल पत्ता नलागेपछि प्रहरीले कन्ट्रोल रुममा फोन गर्ने व्यक्तिको खोजी गर्यो । आगलागीको सूचना दिने नम्बरमा प्रहरीले फोन गर्यो तर, मोवाइल ‘स्वीच अफ थियो ।’ आगो लागेको घर खोज्दाखोज्दै साढे ८ बज्यो । दमकलको अघि र पछि प्रहरीका भ्यान थिए । सँगै अग्नी नियन्त्रकसमेत थिए । सो टोलीले बिजुलीबजारका सबै घर चहार्दासम्म आगो लागेको नभटेपछि बल्ल थाहा भयो आगालागीको सूचना गलत रहेछ ।
फेक हल्लाका सिकार बने दोलखाका विनोद
विजुली बजारको फेक आगलागीको घटनाको असर भक्तपुरमा परेको छ । लोकन्थलीमा बुधबार राति १० बजे विद्युत् सर्ट भएर आगलागी भयो । स्थानीयले प्रहरीलाई खबर गरे । बिजुलीबजारको बजारको फेक आगलागीको घटनाबाट आजित प्रहरीलाई दुविधा भयो । घटना सत्य हो–होइन भन्नेमा अलमल भइरहँदा तारन्तार प्रहरीमा सूचना आएपछि बल्ल दमकल घटनास्थलतर्फ पठाइयो । करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भइसकेपछि मात्र दमकल पुग्यो ।
स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा वैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी भएको थियो । आगलागीबाट करिब १० तोला सुन, पाँच लाख नगद, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको सानोथिमीस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख, प्रहरी सहायक निरीक्षक रमेश राईले जानकारी दिए ।
प्रहरीलाई फेक सूचना आउँदा सत्य घटना पनि पत्याउन मुस्किल परेको प्रहरी अधिकारीहरु बताउँछन् । फेक सूचनाबाट आजित प्रहरी अधिकारीबाट कहिलेकाही सत्य घटनाका पीडितलाई उद्धार गर्न समेत ढिलाई हुने बताईन्छ ।
फेक सूचना दिनेको खोजी
प्रहरीलाई गलत सूचना दिने व्यक्ति को भन्ने अझै पत्ता लाग्न सकेको छैन । चाडबाडको संवेदनशील समयमा गलत सूचना दिएर सुरक्षाकर्मीलाई हैरान पार्ने सो व्यक्तिको खोजीमा प्रहरी लागेको छ । महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले भन्छन्, ‘प्रहरीलाई फेक सूचना दिएर, होल्ड गर्ने र अरु स्थानमा अपराधिक घटना गराउने मनस्थिती पनि हुन सक्छ, फेक सूचना दिनु ठुलो अपराध हो कारवाही गछौ ।’
पटका पट्काउने र जुवा तास खेल्नेलाई पनि छैन छुट
तिहार र छठपर्वको समयमा सुरक्षा चुनौती बढ्ने सुरक्षा विश्लेषणसहित प्रहरीले काठमाडौं भित्रिने नाकाहरुमा कुकुरसहितको सुरक्षा जाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी प्रमुख (एसएसपी) बसन्त लामाले बताए ।
‘नाकाहरुमा डग सहितको चेकजाँच गर्छौ’ उनले न्यूज कारोबारसँग भने ‘तिहार र छठपर्वको सन्दर्भमा हुनसक्ने सुरक्षा चुनातीलाई सामना गर्न हामीले चुस्त खालको सुरक्षा योजना बनाएका छौं ।’ चाडपर्वलक्षित अपराधका घटना न्यूनिकरण गर्न काठमाडौंमा मात्रै कूल ३ हजार ५ सय ३५ प्रहरी परिचालन गरिएको लामाले बताए ।
काठमाडौं बसेर तिहार मनाउने र काठमाडौंका डेरा–कोठामा आफ्नो सम्पत्ति छाडेर पुख्र्यौली थातथलोतर्फ तिहार तथा छठ मान्न जानेहरुलाई प्रहरीले ढुक्क रहन आग्रह गरेको छ । एसएसपी लामाले भने ‘व्यक्तिका घर डेरा तथा, धार्मिक अनुष्ठानहरुको सुरक्षाका लागि मजबुद योजना बनाएका छांै, ढुक्क भएर तिहार मनाउने वातावरण छ,’ उनले भने ।
पटका पट्काउने, जुवा तास खेल्नेहरु समेत आफुहरुको पहिलो निगरानीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले आपराधिक गतिविधि भइरहने ‘हटस्पोट’ लाई विशेष निगरानी गर्दै होटल तथा गेष्ट हाउसहरुमा सर्च अपरेशननै चलाएको छ ।
प्रकाशित समय ११:५२ बजे

















