गृहपृष्ठ आश्रममा बस्नेहरुको खुसीमा म बाँच्नुको सार्थकता लुकेको छ : बस्नेत

आश्रममा बस्नेहरुको खुसीमा म बाँच्नुको सार्थकता लुकेको छ : बस्नेत

binayjung-newskarobar

जिन्दगी भनेको तीन बाल्टिन पानी हो, जस्तोसुकै कार्य गरे पनि अन्त्यमा तीन बाल्टिन पानी हालेर खरानी पखालेपछि सकिन्छ- यो भनाइ हो, ‘एक्सन फर सोसल चेन्ज’ का अध्यक्ष विनयजंग बस्नेतको । जीवनमा ठूलो हन्डर खाएपछि समाजसेवामा लागेका उनी मंगलबार लगनखेलमा तिहारका लागि फूल बेच्दै थिए । सामाजिक संस्था खोल्ने अनि चन्दा संकलन गरेर चल्ने/चलाउने धेरै छन् । तर, उनले त्यसो गरेनन्, बरू फूल बेच्न बसे ।

उनलाई सामाजिक संस्थाका नाममा सौदाबाजी मन पर्दैन । भन्छन्, ‘अरुसँग रकम मागेर समाजसेवा गर्नुभन्दा आफूले नै केही काम गरेर समाजसेवा गर्नुपर्छ ।’ लगनखेलका सडकपेटीमा डोकोमा फूल राखेर बेच्न उनलाई भ्याइनभ्याइ थियो ।

बस्नेतले काभ्रेबाट पाँच लाखभन्दा बढीको फूल ल्याएका थिए । फूलको व्यापारबाट उनको संस्थाका लागि रकम संकलन भएको थियो भने लगनखेलबासीले फूलका लागि भौंतारिनुपरेको थिएन । त्यो पनि सस्तो मूल्यमा । अन्य पसलले १२ सयमा बेच्ने गरेको फूल उनले ८ सय रुपैयाँमा बेचिरहेका थिए । त्यसैले होला, उनीकहाँ मानिसको भीड बढी नै थियो ।

binayjung-newskarobar

फूल बेच्नमात्र होइन, अाश्रम सञ्चालनका लागि उनी जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् । विगतमा सडकपेटीमा धेरै कष्ट भोगेका उनलाई सडकपटीमै मेहनत गर्नुपरे पनि अनौठो लाग्दैन । ‘अब कसैले पनि सडकपेटीमा बेवारिसे जीवन बिताउँन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ भावुक मुद्रामा उनले भने, ‘त्यसकारण आफैं सडकपेटीमा फूल बेच्ने काम गरेको हुँ । मैले मृत्युको अनुभव गरेको छु, अबको बाँकी जीवन अरुका लागि बाँच्न चाहन्छु ।’

बस्नेतले हालसम्म बेवारिसे अवस्थाका एक सय ४० भन्दा बढी शवको दाहसंस्कार गराइसकेका छन् । उनले देशका २२ जिल्लामा ‘एक्सन फर सोसल चेन्ज’का शाखा खोलेर सेवा प्रदान गरिरहेका छन् । ललितपुरको टिकाथलीमा कार्यालय भवन बनाउने उनको तयारी छ ।

टिकाथलीमा रहेको ‘एक्सन फर सोसल चेन्ज’ आश्रमले अहिले २० जनालाई सहारा दिएको छ । आश्रममा बेसहारा बालबालिकादेखि वृद्धवृद्धासम्म अटाएका छन् । आश्रममा बस्नेहरु पनि यत्तिकै बस्दैनन् । हातमा सीप भएकाहरुले सीपअनुसारको काम गर्छन् । रुमाल बुन्न जान्नेहरु रुमाल बुन्छन्, कुर्सी बनाउन जान्नेहरु कुर्सी बनाउँछन् । यसले उनलाई पनि केही सहज हुन्छ ।

उनको लक्ष्य परिवारबाट अपहेलित र कुलतमा फसेर सडकमा आइपुगेकाहरुको जीवनमा उज्यालो छर्नु हो । तर, सबै आफूले सोचेजस्तो किन हुन्थ्यो र ! जो आश्रममा बस्न रुचाउँदैनन्, उनीहरु छाडेर हिँड्छन् र फेरि सडकपेटीमै पुग्छन् । ‘आश्रममा रक्सी खान पाइँदैन,’ उनी भन्छन्, ‘रक्सीका लागि सडकपेटीमा जान खोज्नेहरुका लागि भने केही गर्न नसकिने रहेछ ।’

नकारात्मकतासँग उनी खासै संगत गर्दैनन् । त्यसले विकारमात्र पैदा गर्छ । त्यसैले उनी रमाइला पलहरु सम्झन खोज्छन्, जसबाट सकारात्मक सोचका लागि ऊर्जा थपिन्छ । ‘साँझ आश्रम पुग्दा विनय सर आउनु भो भन्दै धेरै खुसी हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरुको खुसीमा म बाँच्नुको सार्थकता लुकेको पाउँछु, आनन्द लाग्छ ।’

binayjung-newskarobar

समाजसेवी बस्नेतलाई मेहनतको पैसाले मात्र सन्तुष्टि मिल्छ । आश्रमका लागि दिन्छु भन्नेहरुको स्वार्थ सम्झँदा झन् पिरोलिन्छन् उनी । सहयोग गर्छु भन्दै नआएका होइनन् । केही आए पनि तर उनले अधिकांशलाई इन्कार गरे । आश्रमलाई कमाउने थलो बनाउन खोज्नेहरुलाई उनले कहिल्यै आफ्नो मानेनन् । ‘एकजनाले संस्था सञ्चालनका लागि १० करोड बैंक खातामा हाल्दिन्छु, तर एक करोड तिमी चलाऊ ९ करोड म फिर्ता लान्छु भन्यो,’ उनले भने, ‘तर उसले ब्ल्याक मनीलाई ह्वाइट बनाउन खोजेको थाहा पाएपछि मैले इन्कार गरें ।’

आश्रममा आइपुग्नेहरु अधिकांश सम्पन्न पृष्ठभूमिका हुने उनको अनुभव । ‘सम्झिँदा पनि अचम्म लाग्छ, मानिस कसरी एकाएक सडकमा आइपुग्छ,’ बस्नेत भन्छन्, ‘जीवनले कतिखेर कुन मोड लिन्छ भन्ने कसैले अनुमान गर्न सक्छ जस्तो लाग्दैन ।’ उनको आश्रममा राजा वीरेन्द्रका गाडी चालकदेखि कुष्ठरोगको उपचारमा संलग्न पहिलो नर्ससमेत बस्थे कुनै बेला ।

आश्रममा अनेक प्रवृत्तिका मानिस आउँछन् । कोही आश्रममै बस्छन् र उनलाई गाली गर्छन् । तर, उनलाई ती गालीले थप हौसला मिल्छ, प्रेरणा मिल्छ । ‘किनकि सबै मानिसका सोच र शैली फरक-फरक हुन्छन्, त्यसले पनि जीवन जिउन थप ऊर्जा मिल्ने रहेछ,’ उनले भने ।

आश्रममा कोही पनि व्यक्ति रहरले आउँदैन । कोही आफ्नो व्यवहारले गर्दा आउँछ त कसैलाई नियतिले ल्याइपुर्याउँछ । उनले यसलाई राम्ररी बुझेका छन् र त्यहीअनुसार व्यवहार गर्छन् । उनलाई लाग्छ- जीवन भोगाइका उकाली-ओराली नै जिन्दगीका हरेक मोडमा सहयात्री बन्ने रहेछन् ।

 

बस्नेत किन लागे समाजसेवामा ?

साथसंगत गतिलो नपर्दाको परिणाम, टिकाथलीका स्थायी बासिन्दा बस्नेत पाँच-सात वर्षअघि सम्म रक्सीमा डुबिरहन्थे । रक्सी खाने पैसा नहुँदा बाटामा जो मनलाग्यो त्यहीसँग हात फैलाउँथे । बाटोमै सुत्थे । जो पायो त्यहीसँग अनाहकमा झगडा गर्थे ।

एकमात्र छोरोको गतिविधिले परिवारका सदस्य पनि हैरान थिए । बूढी र छोरीले कहिल्यै सुख पाएनन् । उनको व्यवहार सहन नसकी बूढी र छोरीले पनि छाडेर गए । परिवारले अाफ्नै बुतामा जाँडरक्सीबाट छुटाउन धेरै ठूलो कसरत गर्यो तर सकेन ।

अन्ततः दिदीले उनलार्इ सुधार केन्द्र पुर्याइन् । सुधार केन्द्रमा रहेकै बेला उनको बुवा दुर्घटनामा परे । दुर्घटनामा घाइते भएका बुवाको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर पाएपछि उनी त्यहाँ पुगे । टिचिङमा बुवाको शव अरू बेवारिसे शवसँगै राखिएको भेटेपछि उनको चेत खुल्यो । उनको जीवनमा त्यही क्षण ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु