गृहपृष्ठ जथाभावी पार्किङले अस्तव्यस्त राजधानी

जथाभावी पार्किङले अस्तव्यस्त राजधानी

parking-kathmandu-newskarobar

न्युरोड, विशालबजार, असन, महाबौद्ध, ठमेललगायतका ठाउँ राजधानीका व्यस्तबजार हुन् । एक–आपसमा जोडिएका घरहरुको भित्रभित्र चेपिझैं देखिने साँघुरा सडकमा सामान किन्न आउनेको भीड निक्कै हुन्छ । त्यसमाथि भित्री अधिकांश सडकमा ‘फुल पार्किङ’ हुने गरेको छ, जहाँ सवारीसाधन आवागमनको कुनै गुञ्जायस छैन । तर पनि वर्षौं पुराना यी बजार क्षेत्र व्यवस्थित बनाउन कसैले पहल नगर्दा अस्तव्यस्तता बढेको छ ।

सहरमा बर्सेनि मानिसको चाप बढ्दो छ । बजार क्षेत्र विस्तार भएको छैन । राजधानीका केन्द्रभागमा रहेका होलसेल बजारलाई रिङरोडबाहिर लैजाने हो भने पनि त्यहाँको उकुसमुकुसबाट धेरैले मुक्ति पाउँथे । तर, विडम्बना न भएको बजार व्यवस्थित गर्न खोजिन्छ न त स्थानान्तरण नै । परिणामतः एकातिर व्यापारी, ग्राहकदेखि स्थानीय बासिन्दासमेतले सास्ती पाइरहेका छन् भने अर्कातिर सहर कुरुप बनेको छ ।

सबैभन्दा विकराल समस्याको रुपमा देखापरेको छ, राजधानीको पार्किङ । ठूला बजार क्षेत्रमा मात्र होइन, राजधानीमा कही पनि व्यवस्थित पार्किङ छैन । केही स्थानमा सशुल्क पार्किङको व्यवस्था गरिएको छ तर १० लाखभन्दा बढी मोटरसाइकल र झन्डै दुई लाख ठूला सवारीसाधन गुड्ने सहरका कुनै कुनामा बनाइएका सशुल्क पार्किङ स्थल ‘हात्तीको मुखमा जिरा’सरह भइरहेका छन् । काठमाडौं महानगरपालिकाले सडकमा एकलाइन निःशुल्क पार्किङको सुविधा दिएको छ, त्यही सुविधाको दुरुपयोग हुँदा पूरै सडक पार्किङस्थल बन्ने गरेको छ ।

राजधानीका बजार क्षेत्रमा दैनिक अर्बौंको किनमेल हुन्छ । त्यसको व्यवस्थित लेखाजोखा त धेरै परको कुरा, त्यहाँबाट हुनसक्ने सम्भावित आम्दानीतर्फ कसैको ध्यान पुगेको छैन नै, ती स्थलमा दैनिक कारोबारका लागि पुग्ने ग्राहकले झेल्ने सास्तीतर्फ पनि कसैको ध्यान पुगेको छैन, न केन्द्र सरकार न स्थानीय सरकार न त स्थानीय व्यापारी ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूलो जोखिम मोलेर राजधानीका सडक विस्तार गराए, फुटपाथ ठूला बनाए । तर, ती सडक र फुटपाथका दुवैतर्फ गाडी पार्किङ गरिनाले सडकका साइज खुम्चिएको जस्ताको तस्तै भएको छ । साना–साना पसलदेखि होलसेल र कर्पोरेट हाउससमेतमा पुग्ने सर्वसाधारण एवं सेवाग्राही सडकमै पार्किङ गर्न बाध्य छन् ।

parking-newskarobar

पार्किङका लागि कति भौंतारिनु ?
इलेक्ट्रोनिक पसलका लागि सामान किन्न असन महाबौद्ध आएका राम श्रेष्ठ वीर अस्पतालनजिकको बाटोबाट करिब ५० मिटर अगाडि गए । तर, मोटरसाइकल पार्किङ गर्ने ठाउँ भेटेनन् । केहीबेर कुर्दा पनि नभेटेपछि एकछिन रन्थनिए । मोटरसाइकल कहिले अगाडि बढाउँथे त कहिले दायाँ–बायाँ लग्न खोज्थे । पार्किङ गर्ने ठाउँ भेट्नु त कता, मानिसको भीड र अर्कातिरबाट आएका सवारीका कारण मोटरसाइकल अगाडि बढाउने बाटोसमेत पाएनन् । अर्कातिरबाट आएका धेरै सवारी साधनसामु उनको केही लागेन । चर्को हर्नको सामना गर्न नसकी मोटर घुमाउनतिर लागे । उनी झर्किंदै थिए, ‘हत्तेरी ! अब त सामान किन्न पनि बसमा आउनुपर्ने भो, मोटरसाइकल पार्किङ गर्न यस्तो तनाव भएपछि के गर्ने ?’

श्रेष्ठ एक प्रतिनिधि उदाहरणमात्र हुन् । राजधानीका व्यस्त बजारमा सामान किन्न जाने उनीजस्ता हजारौंले हरेक दिन यस्ता समस्या भोग्नुपरिरहेको छ । सवारीसाधन पार्किङ गर्नका लागि कुनै निश्चित स्थान छैन । पुराना भवनमा पनि चारैतर्फ सटर छन् तर त्यहाँ सामान किन्न जानेहरुले सडकमा पार्किङ गर्नुपर्छ । नयाँ बनेका घर तथा भवनमा पनि पर्याप्त पार्किङ छैनन् । जसको मर्कामा सर्वसाधारण पर्ने गरेका छन् ।

पसलेलाई पनि समस्या
सवारीसाधनका कारण आवागमन नै प्रभावित भएपछि स्थानीय बासिन्दाले कुनै–कुनै सडकलाई एकतर्फी (वान वे) बनाउन लगाएका छन् भने कतिपय सडकमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएका छन् । तर, समस्या ‘बीसको उन्नाइस’ भएको छैन । दुई दशकदेखि इलेक्ट्रोनिक सामानको व्यवसाय गर्दै आएका गणेश जोशी सडकमा पार्किङ गरिएका कारण सधैं सास्ती खेप्नुपरेको बताउँछन् । ‘सडकको पार्किङका कारण सवारी साधन पसलसम्म नआउँदा भरियालाई बोकाएर सामान लाने–ल्याउने गर्नुपरेको छ,’ उनी भन्छन्, ‘यसले ढुवानी खर्चसमेत बढेको छ ।’

ट्याक्सी स्टेसन पनि छैनन्
राजधानी सहरमा ट्याक्सी स्टेसन पनि छैनन् । कतै–कतै ट्याक्सीका लागि बनाइएका स्टेसन पनि कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सी चालकहरु खाली कि खाली ट्याक्सी सडकमै दौडाइरहन्छ कि त सडक किनारामा पार्किङ गरेर बस्छन् । त्यसले पनि जामको समस्या बढाएको छ ।

ट्याक्सी चालक कुमार श्रेष्ठ ट्याक्सी स्टेसन र यात्रु प्रतीक्षालय नतोकिँदा निकै समस्या भएको बताउँछन् । ‘यात्रु चढाउने र ओराल्ने ठाउँ मैले नबुझेको हो कि के हो थाहा छैन तर ट्राफिकबाट धेरै दुःख पाइरहेका छौं,’ उनले भने, ‘यात्रु र सामान झार्न दुई मिनेट पनि रोक्न दिँदैन, जबर्जस्ती रोक्यो भने प्रहरीले हजार रुपैयाँको चिट काटिदिन्छन्, रोक्ने ठाउँ तोकिएको छैन ।’

parking-newskarobar

के गर्दै छ ट्राफिक महाशाखा ?
काठमाडौंको ट्राफिक जाम व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले विशेष प्रयास गरिरहेको जनाएको छ । महानगरको जामलाई मुख्य समस्याका रुपमा लिएको ट्राफिक महाशाखाले जाम हटाउनकै लागि विभिन्न वैकल्पिक तरिकाहरुको खोजी गरिरहेको जनाएको छ ।
महाशाखा प्रमुख वसन्त पन्त सवारी जाम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले धेरै प्रयास भइरहेको बताउँछन् । ‘उपत्यकामा दिनप्रतिदिन बढ्दो जनसंख्या र सवारी चापसँगै सीमित र साँघुरा सडक ट्राफिक व्यवस्थापनको चुनौतीका रुपमा देखापरेका छन्,’ उनी भन्छन्, ‘त्यसमाथि सडक प्रयोगकर्तामा सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्तिका कारण समस्या समाधान हुन नसकेको छ ।’

काठमाडौं उपत्यकाको सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नु, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सिन्डिकेटलगायत कुरामा निश्चित समूहको मात्र पहुँच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक यातायात व्यवसायीको सेवामुखीभन्दा नाफामुखी सञ्चालन पद्धति, त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रणाली आदिले पनि ट्राफिक चुनौती बनाउन भूमिका खेलिरहेका छन् । सवारी साधनको अत्यधिक चापका बाबजुद सडकको दुबैतिर रहेका फुटपाथमा हुने खुद्रा पसल पनि जामको मुख्य कारण बन्ने गरेको छ । फुटपाथ पसल र पसलेले फुटपाथमा सामान राखेका कारण पैदल यात्रुले सडकमा हिँड्नुपर्दा समस्या बढेको छ ।

उपत्यकाको धेरै व्यापारिक भवनका निजी पार्किङ छैनन् । फलतः किनमेल गर्न आउनेहरु र कार्यालय आउनेहरुले पनि सडकमै सवारी साधन पार्किङ गर्छन् । सवारी व्यवस्थापनका लागि सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर आवश्यक अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्नुपर्ने महाशाखा प्रमुख पन्त बताउँछन् ।

काठमाडौं महानगरको योजना
काठमाडौं महानगरपालिकाले भने काठमाडौंबासीको मुख्य समस्या नै वायु प्रदूषण र सडक जाम भएकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्रवक्ता ईश्वरमान डंगोल प्रदूषण रोक्न महानगरपालिकाले काठमाडौंलाई हराभरा पार्ने योजना कार्यान्वयनमा ल्याइसकेको बताउँछन् । ‘पार्क निर्माण, वडा–वडामा वृक्षारोपण, ‘क्लिन द सिटी’ जस्ता योजना कार्यान्वयनको चरणमा छन्,’ उनी भन्छन्, ‘तत्काललाई सडक जामको समस्या कम गर्न ‘पिक एन्ड ड्रप’ प्रणाली लागू गरेका छौं । यसो गर्दा यात्रु र सवारी धनी दुवैले फाइदा लिएका छन् भने सडक जामको समस्या पनि केही हदसम्म समाधान भएको छ ।’
सडक जामको दीर्घकालीन समाधानका लागि पनि महानगरले योजना बनाइरहेको र केही योजना कार्यान्वयनमा ल्याइसकेको उनले बताए । सडक जाम कम गर्न मुख्य चोकहरुमा ट्रफिक लाइट राख्ने तथा जेब्रक्रस र आकाशेपुलहरु निर्माण गर्ने योजना महानगरले बनाइसकेको प्रवक्ता डंगोलले बताए ।

parking-newskarobar

बढ्दो निजी सवारी आयात
सवारी साधनको बढ्दो आयातका बीच सहरी क्षेत्र विस्तारलाई सरकारले प्राथमिकता नदिँदा राजधानीको ट्राफिक समस्या विकराल बन्दै गएको छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ सम्म देशभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन्, जसमध्ये ३६.३९ प्रतिशत उपत्यकामै चल्छन् । साविक बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ सवारी साधन दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्रै साना, मध्यम र ठूला गरी एक लाख २० हजार ७ सय ८६ सवारीसाधन थपिए ।

सार्वजनिक यातायात सेवाप्रति विश्वास टुट्दै गएका कारण मानिसहरु निजी यातायात किन्न बाध्य छन् । आर्थिक वर्ष २०७४/७५ मा चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी एक लाख १८ हजार ४ सय ९६ वटा निजी साधन आयात भएका छन् भने २ हजार २ सय ९० सार्वजनिक सवारी साधन थपिएका छन् । बागमतीमा दर्ता भएकामध्ये करिब ८० प्रतिशत सवारी साधन उपत्यकामै चल्छन् ।

सडक विस्तार
राजधानीको सवारी प्रेसरलाई मध्यनजर गर्दै सरकारले सडक चौडा बनाउने कार्यलाई तीव्रता नदिएको होइन । तर, सडक किनारका घर भत्काएर सडक विस्तार गरिए पनि सडकमै पार्किङ गरिएकाले समस्या जहाँको तहीँ छ ।

भक्तपुरबाट कोटेश्वर हुँदै तीनकुनेसम्म ६ लेनको सडक बनेको छ । कलंकीदेखि कोटेश्वरसम्म ८ लेनको सडक निर्माण भइसकेको छ । तर, कोटेश्वरको जाम सबैका लागि टाउको दुखाइको विषय बनिरहेको छ । चीनले बनाइदिएको आठ लेनको सडक र जापानले बनाइदिएको ६ लेनको सडकबीचको तादात्म्यता नमिल्दा पनि जाम नघटेको ट्राफिक प्रहरी बताउँछन् । ठूला सडक भएर ठूलोमात्रामा भित्रिने गाडी सानो सडकबाट अघि बढ्नुपर्दा समस्या जाम देखिएको उनीहरुको बुझाइ छ । यसको दीर्घकालीन समस्या समाधानका लागि यातायात नीति नै बनाउनुपर्ने ट्राफिक महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

राजधानीको ट्राफिक व्यवस्थापन झन् ‘भद्रगोल’

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु