गृहपृष्ठ धनुषामा करेन्ट लागेर दुई जनाको घटनास्थमै मृत्यु
धनुषामा करेन्ट लागेर दुई जनाको घटनास्थमै मृत्यु
करेन्ट लागेको साथीलाई बचाउन खोज्नेको पनि गयो ज्यान
जनकपुरधाम उपमहानगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१२, नारी विकास केन्द्रअगाडि विद्युत पोलबाट प्रवाह भएको करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शी श्रवण साहका अनुसार तीनवटा बेग्लाबेग्लै मोटरसाइकल चढेर आएका उनीहरु सडकपेटीमै विद्युतको पोलमा सपोर्टका लागि राखिएको तारबाट प्रवाह भइरहेको करेन्टमा परेका थिए । करेन्ट लागेका एकजनालाई बचाउन खोज्दा अर्को एकजनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सिरहाको विष्णुपुर नगरपालिका–४ बस्ने रामअवतार साहका २७ वर्षीय छोरा जगरनाथ साह र धनुषाको मिथिलाबिहारी नगरपालिका–९, मिथिलेश्वरका परमेश्वर मण्डल छन् । करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ४१ वर्षका सूर्यनारायण शर्मा घाइते भएका छन् । घटनास्थलबाट करेन्ट प्रवाह भएको मोटरसाइकल ज. ९ प ७७०९, ज. ९ प ३५२० र स. ४ प ३९५६ प्रहरी कार्यालयमा राखिएको छ ।
मृतकहरुको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घाइते शर्माको अञ्चल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनास्थल पुगेका प्रहरीका अनुसार ११ हजार भोल्टको तार तानिएको पोलबाट सपोर्टका लागि जमिनमा गाडिएको तारबाट करेन्ट प्रवाह भएको हो ।
प्रकाशित समय १७:५८ बजे

















