गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध भारतको ६ गोल
साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध भारतको ६ गोल
विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारत र माल्दिभ्सबीचको खेलमा माल्दिभ्स ६-० ले पराजित भएको छ ।
पहिलो हाफमा पाँच गोल खाइसकेपछि रणनीति बदलेको माल्दिभ्सले दोस्रो हाफमा भने खेललाई सुधार गरेको थियो । माल्दिभ्सका डिफेन्सले भारतीय खेलाडीलाई पोष्ट आक्रमणबाट सक्दो बचाउ गरेका थिए ।
पहिलो हाफको अन्तिम गोल इन्जुरी टाइममा भारतकी रतनवाला देवी मन्गमैतिमले गरिन् भने आधा दर्जन गोलको अन्तिम स्कोरका लागि सन्जुले योगदान गरिन् ।
उनले दोस्रो हाफको अन्तिम मिनेटतिर मैदानको मध्यबाट पोष्ट ताकेकी थिइन् । माथिबाट आएको बल माल्दिभ्सकी गोल किपर अमिनाथ लिजाले हातबाट फुत्काएकी हुन् ।
त्यसअघि पहिलो हाफको २८ औं मिनेटमा जर्सी नम्बर ८ की सन्जुले नै भारतका लागि आफ्नो पहिलो गोल दर्ता गरेकी थिइन् । इन्दुमति कथिरिसनले २३ औं मिनेटमा तेस्रो गोल गरिन् ।
माल्दिभ्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै भारतकी जर्सी नम्बर ११ की ग्रेस दंगमीले पहिलो गोल गरेकी थिइन् । त्यस्तै ११ औं मिनेटमा भारतकी स्विटीदेवी नग्नग्याम्बले दोस्रो गोल गरेकी हुन् । माल्दिभ्सको डिफेन्स लाइन निकै कमजोर सावित भएको छ ।
प्रकाशित समय १९:५९ बजे

















