गृहपृष्ठ खेलाडीहरुको लागि स्थायी जिविकोपार्जन : मुख्यमन्त्री राउत
खेलाडीहरुको लागि स्थायी जिविकोपार्जन : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जन गर्ने बताएका छन् । जनकपुरमा सोमबारबाट सुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले प्रदेश २ को सरकारले प्रादेशिक संरचना भित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति दिएको बताए । मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र कम्ती ३÷४ वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी दिए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ खेलाडीहरुको भूमि रहेको उल्लेख गर्दै खेलाडीहरुलाई उजागर गर्न प्रदेश सरकार लागिरहेको बताए । उनले आधुनिक खेलका जगेर्ना गर्ने समेत प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मुल श्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघी बढ्ने बताए ।
रुपेशकुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशल कुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमी सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शहीद संजय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । १९ गते सम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडांै रहेका छन् । त्यस्तै भारतबाट पटना, दरभंगा र कानपुर गरि जम्मा ८ वटा टिम सहभागी छन ।
प्रकाशित समय १५:०१ बजे

















