गृहपृष्ठ कोलकताका रसेल चम्किँदा बेंगलोरको लगातार पाँचौ हार
कोलकताका रसेल चम्किँदा बेंगलोरको लगातार पाँचौ हार
इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार पाँचौ हार व्यहोरेको छ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गरेसँगै बेंगलोर कोलकोतासँग पाँच विकेटले पराजित भएको हो ।
शुक्रबार राती बेंगलोरको घरेलु मैदान चिन्नावास्मी मैदानमा भएको खेलमा कोलकताले २ सय ६ रनको विशाल लक्ष्य १९.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । सनसनीपूर्ण ब्याटिङ गरेका रसेलले मात्र १३ बलमा ७ छक्का र १ चौकाको मद्दतमा ४८ रन जोड्दै टिमलाई जिताए । रसेलले १८ औं ओभरमा २३ र १९ औं ओभरमा २९ रन जोडेका थिए ।
क्रिस लिनने ४३, सुनिल नरायण १०, रोविन उथप्पा ३३ र नितेश रानाले ३७ रनको योगदान गरे । कप्तान दिनेश कार्तिकले १९ रन बनाए । बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । कप्तान तथा ओपनर विराट कोहलीले ८४ रनको योगदान गरे । एवी डी भिलियर्सले ६३ रन बनाए । अर्का ओपनर पार्थिव पटेलले २५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ रन जोडे । कोलकताका लागि कुलदिप यादव, सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए ।
हारसँगैै बेंगलोरको अघिल्लो चरण कठिन बनेको छ । कोलकता ४ खेलमध्ये तीनमा जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित समय ०७:१३ बजे

















