गृहपृष्ठ विश्वकप क्रिकेट : विलियम्सनको शतकमा न्युजिल्याण्ड विजयी
विश्वकप क्रिकेट : विलियम्सनको शतकमा न्युजिल्याण्ड विजयी
एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले हराएको छ ।
जितका लागि न्युजिल्याण्डलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । कप्तान केन विलियम्सनले दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै जित पक्का गरे ।
२ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । वर्षाका कारण खेल एक ओभर छोट्याएर ४९ ओभरको बनाइएको थियो । योसँगै न्युजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले शतक प्रहार गरे । उनी १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित १ सय ६ रनमा अविजित रहे । कोलिन डी ग्राण्डहोमले ६० रनको महत्वपूर्ण योगदान गरे ।
ओपनर कोलिन मुनरो ९ रनमै पेभेलियन फर्किए । अर्का ओपनर मार्टिन गुप्टिल ३५ रनमा आउट भए । रोश टेलर र टम लेथम समान १–१ रनमा आउट भए । जेम्श निशमले २३ रन बटुले । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ३ विकेट लिए । कागिसो रबाडा, लुन्गी निडी र एन्डिलो फहवकुलोले एक–एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । मध्यक्रमका रस्सि भान डर दुसेन ६४ बलमा ६७ रनमा अविजित रहे । क्रिस मोरिसले ६ रन बटुले ।
ओपनर हाशिम अमलाले ५५ रन बनाए । ओपनर क्विन्टन डी कक ५ रन जोड्दै आउट भए । फाफ डु प्लेसिसले २३ रन बटुले । एडेन मार्करामले ३८ रनको योगदान दिए । डेविड मिलरले ३६ रन जोडे । न्युजिल्याण्डका लागि ल्योकी फर्गुसनले ३ विकेट लिए । टेन्ट्र बोल्ट, कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट लिए ।
योसँगै न्युजिल्याण्ड ५ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।े छैटौं खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजसँग आगमी शनिबार प्रतिस्पर्धा गर्नेछ । हारसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा कठिन बनेको छ ।
प्रकाशित समय ०७:४८ बजे

















