गृहपृष्ठ गौतमबुद्ध रंगशाला निर्माणमा प्रदेश सरकारको छुट्यायो ५ करोड

गौतमबुद्ध रंगशाला निर्माणमा प्रदेश सरकारको छुट्यायो ५ करोड

gauram-buddha-rangasala_NewsKarobar

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले ५ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिइन् । मंगलबार नगरपरिषद् गर्न लागेको महानगरले रंगशालाका लागि ५ करोड विनियोजन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेका २९ वडाले ५ लाख रुपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले सुरुवाती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै संघ, प्रदेश र स्थानीय तहले रंगशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरु भएको जानकारी दिइन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रंगशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रंगशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताए । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पुँजीबाट सहयोग गर्ने उनले जानकारी दिए ।

गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रंगशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारी काठमाडौंमा छन् । डल्लाकोटीका अनुसार एकरदुई दिनमा उनीहरुको उपस्थितिमा बैठक बसी काम अघि बढ्नेछ ।

फाउण्डेसन र सरकारी निकायले के–के गर्ने भन्ने टुंगो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रंगशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रंगशाला शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो ।

भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रंगशाला निर्माण गर्न ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।(रासस)

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु