गृहपृष्ठ एसिसी यू-१९ मा भोलि नेपाल र सिंगापुर भिड्दै
एसिसी यू-१९ मा भोलि नेपाल र सिंगापुर भिड्दै
फाइल तस्बिर
मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा भोलि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ७:४५ बजे खेल सुरु हुनेछ ।
नेपाल सिंगापुरविरुद्धको खेलमा जित हात पारे समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ भने पराजित भए समूह उपविजेताका रुपमा सेमिफाइनलमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुगेकाले यो खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिंगापुर र चीन छन् । दुई खेल खेलेको चीन दुवै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
त्यसैगरी, समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै भुटान, हङकङ र थाइल्यान्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । प्रतियोगिताबाट विजेता टोली श्रीलंकामा आयोजना हुने यू–१९ एसिया कपमा छनोट हुनेछ ।
नेपालले यू–१९ उमेर समूहको खेलमा सिंगापुरलाई पराजित गर्दै आएको छ । गत अप्रिलमा मलेसियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । त्यस्तै सन् २०१७ मा सिंगापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा पनि नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेको थियो ।
प्रकाशित समय १६:२४ बजे

















