गृहपृष्ठ वर्षाले रोकिएको न्यूजिल्याण्ड र भारतबीचको खेल आज

वर्षाले रोकिएको न्यूजिल्याण्ड र भारतबीचको खेल आज

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनमा वर्षा बाधक बनेको छ । मंगलबार वर्षाले स्थगित भएको खेल बुधबार हुँदैछ ।

म्यानचेस्टरको वल्र्ड ट्रफोर्ड मैदानमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाले खेल रोकिएको थियो । न्यूजिल्याण्डले ५ विकेट गुमाएर २ सय ११ रन जोडेको छ । सोही स्थितिबाट आजको खेल प्रारम्भ गर्ने आईसीसीले जनाएको छ ।

खेल नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । लिग चरणमा भारत र न्यूजिल्याण्डबीचकै खेल वर्षाका कारण रद्द भएको थियो । लिग चरणका ५ खेल वर्षाले रद्द भएका थिए । बुधबार पनि वर्षाको सम्भावना रहेको बताइएको छ । यदि आज पनि वर्षा भए रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ । रस टेलर ६७ र टम लाथाम ३ रनमा क्रिजमा रहेको स्थितिमा वर्षा भएको थियो ।

न्यूजिल्याण्डले ओपनर मार्टिन गुप्टिललाई सस्तैमा गुमाएको थियो । हेनरी निकोल्सले २८ रन जोडेका थिए । कप्तान केन विलियमसन ६७ रन बनाउँदै आउट भए । जिम्मी निसमले १२ र कोलिन ग्राण्डहोमले १६ रन जोड्दै पेभेलियन फर्किए ।

जसप्रित बुमराह, भूवनेश्वर कुमार, हार्दिक पण्ड्या, रविन्द्र जडेजा र युजवेन्द्र चहलले एक–एक विकेट लिएका छन् ।

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु