गृहपृष्ठ कप्तान पारसको शानदार प्रदर्शनमा नेपालको सहज जित
कप्तान पारसको शानदार प्रदर्शनमा नेपालको सहज जित
नेपालले मलेसियाविरुद्ध पहिलो टि–२० खेलमा ७ विकेटको जित हात पारेको छ ।
कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालको जित सहज बनेको हो । दुई टी–२० सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । १ सय २९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा पूरा गर्यो । कप्तान पारस ८६ रनमा अविजित रहे । उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा सुवास खकुरेलको बनाएको ५६ रनको रेकर्ड तोडेका हुन् ।
शरद भेषवाकर १६ रनमा अविजित रहे । प्रदीप ऐरी ८ रनमा आउट भए । ज्ञानेन्द्र ७ रनमा पेभेलियन फर्किए । रोहित कुमार पौडेल ५ रनमा एलवी डब्लू धरापमा परे ।
यसअघि, किनारारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । ओपनर विरनदीप सिंहले सर्वा्धिक ५७ रनको अर्धशतकीय योगदान दिए । उनले ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । कप्तान अहमद फैजले ४५ रन बनाए ।
ओपनर सैद अजिजलाई सोमपाल कामीले शून्यमा बोल्ड आउट गरेका थिए । फ्रिती सामले १२ रन मात्र जोड्न सके । सफिक सरिफलाई २ रनमा आउट भए । मोहम्मद सियाहदत ८ रनमा बोल्ड भए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । वसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । सोमपाल कामीले १ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
प्रकाशित समय १०:५५ बजे

















