गृहपृष्ठ १३औं साग : आर्चरीको र्यांकिङ राउण्ड शुक्रबारदेखि
१३औं साग : आर्चरीको र्यांकिङ राउण्ड शुक्रबारदेखि
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आर्चरी खेल पोखरामा सुरु भएको छ । बिहीबार आर्चरीको उद्घाटनसहित अभ्यास खेल सुरु भएको हो ।
पाकिस्तानले अन्तिम समयमा आएर आन्तरिक कारण देखाउँदै सहभागी नहुने जनाएपछि आज अभ्यास खेलमात्र भएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए । उनका अनुसार र्यांकिङ राउण्ड पनि अब भोलिमात्रै हुने भएको छ । यसअघि बिहीबार नै र्यांकिङ गरिने तय भएको थियो ।
आर्चरीमा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी छन् । भुटानका ९ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । अन्य तीन देशका १६/१६ जना खेलाडी आर्चरीमा सहभागी हुने भएका छन् ।
टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्पर्धा उत्रँदैछन् ।
यस प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्यांकिङ गर्ने भएको छ ।
प्रकाशित समय १७:५० बजे




















