गृहपृष्ठ नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी

nepal telecom

कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको बताए । हस्ताक्षर समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत यो आयोजना अति महत्वपूर्ण रहेको उल्लेख गरे । ‘यस्ता आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्नेछ,’ उनले भने ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य रहेको छ । नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।

आवश्यकता अनुसार ४०० गिगाविट प्रति सेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करीब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु