गृहपृष्ठ ‘सबैले जित्न सक्ने टिम’को उदयले नेपाल दबावमा

‘सबैले जित्न सक्ने टिम’को उदयले नेपाल दबावमा

भनिन्छ, ‘खेलको आँखा हुँदैन’ । सायद यही भएर होला खेलमा अप्रत्याशित नतिजा अनौठो मानिन्न । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पनि यस्तै नतिजाहरु आइरहेका छन् । कतिले जितको नजिकै पुगेर पनि हार स्वीकार्न बाध्य भए । जसको फाइदास्वरुप खासै आश नगरेको कतिले विजयको स्वाद चाखे ।

नकाउट खेलमा हार र जितको हिसाबकिताब दुई टिममा मात्र रहन्छ । तर लिग वा राउण्ड रोविनका खेलहरुमा भने आफूले जितेर मात्र अर्को चरणको यात्रा तय हुँदैन, खास गरेर प्रतिस्पधात्मक खेलबाट अप्रत्याशित नतिजा निस्केको खण्डमा । यसका लागि अरु बीचको खेलको नतिजामा पनि उत्तिकै निर्भर रहन्छ ।

अहिले पुरुष फुटबलमा पनि अवस्था करिब यस्तै भएको छ, नेपाली टिमको । सन्तोषजनक प्रदर्शन गर्दागर्दै मुख्य गरेर दुई कारणले नेपालको फाइनल यात्राको सम्भावना ‘दबावपूर्ण’ अवस्थामा गुज्रेको छ ।

माल्दिभ्सविरूद्ध गोल गरेपछि नेपाली खेलाडी ।

नेपालले समूह चरणको दोस्रो खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो । ९१औँ मिनेटमा गोल खाएपछि खेलको नतिजा नेपालका लागि ‘चुक्चुकाउँदो’ बन्यो । यदि, श्रीलंकालाई जित्न सकेको भए अन्तिम खेल बाँकी छँदै नेपाल फाइनल प्रवेश गरिसकेको हुन्थ्यो ।

पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले सहजै पाखा लगाएको नेपालका लागि श्रीलंकासँग खेलको नतिजा पहिलो झट्का थियो । समूह चरणकै तेस्रो खेलमा सशक्त प्रतिस्पर्धी माल्दिभ्सलाई २-१ ले हराएपछि भने नेपाली टोलीले केही सहजता महसुस गरेको थियो ।

तर, कमजोर आँकिने भुटानी टिमले निकालेको अप्रत्याशित नतिजाले नेपाल दबावमा पर्‍यो । अघिल्लो दुई खेलमा माल्दिभ्स र बंगलादेशलाई पराजित गरेर सनसनी फैलाएको भुटान शनिबारको खेलमा श्रीलंकामाथि ३-० को शानदार जित दर्ता गरेपछि ऐतिहासिक स्वर्णनजिक पुगिसकेको छ । नेपालबाहेक समूहका सबै टिमलाई हराउँदै ९ अंकसहित भुटान फाइलन पुग्ने पहिलो टोली बनिरहँदा नेपाल भने बाँकी खेल कम्तीमा बराबरी गर्नुपर्ने स्थितिमा छ ।

भुटानी टोली ।

केही वर्षअघिसम्म दक्षिण एसियामा ‘सबैले जित्न सक्ने टिम’को रुपमा हेरिने र प्राय समूह चरणबाटै बाहिरिने भुटानको उदयले माल्दिभ्स र श्रीलंकाको १३औँ साग यात्रामा पूर्णविराम मात्र लागेन, नेपालको फाइनल प्रवेश नै ‘अनिश्चित’ बन्यो । अब आज बंगलादेशविरुद्ध हुने खेल नेपाल लागिका लागि ‘गर वा मर’को स्थितिमा छ । बंगलादेशलाई जसरी पनि रोक्नु नेपालका लागि अनिवार्य छ ।

राउण्ड रोविन प्रणालीमा भइरहेको प्रतियोगिताको तीन खेलबाट नेपालले ७ अंक जोडेको छ । समान खेल खेलेको बंगलादेशको ४ अंक छ । आजको खेलमा नेपालका लागि कमसेकम बराबरी आवश्यक हुन्छ । तर, बंगलादेशले आफ्नो पक्षमा नतिजा निकाल्न सकेको खण्डमा भने नेपालसँग अंक बराबरी भए पनि ‘हेड टु हेड’को आधारमा फाइनलको समीकरणमा उसको सम्भावना रहन्छ ।

दशरथ रंगशालामा आज साँझ ५ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन नेपालको लागि बंगलादेश जित्नै नसक्ने प्रतिद्वन्द्वी त होइन । यो प्रतियोगितामा बंगलादेश बलियो टिमको रुपमा देखा परेको पनि छैन । तर के भर ! आखिर, ‘खेलको आँखा हुँदैन’ नै ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु