गृहपृष्ठ ईपीएलमा क्रिस गेलको सहभागिताले नेपाली क्रिकेटलाई लाभ
ईपीएलमा क्रिस गेलको सहभागिताले नेपाली क्रिकेटलाई लाभ
वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी गेलसँग सोसम्बन्धी सम्झौता भएको पोखरा राइनोजले जानकारी गराएको छ ।
‘भ्रमण वर्ष २०२०’ सुरु भइरहँदा क्रिकेट खेल्न गेल नेपाल आउनु ठूलो खुसीको कुरा भएको राइनोजकी मालिक दीपा अग्रवालले बताइन् । ‘यो हाम्रो टिमको लागि मात्र नभएर देशकै लागि ठूलो अवसर हो,’ अग्रवालले भनिन् । उनले ईपीएलको सफलताले गर्दा नै क्रिस गेललाई टिममा समावेश गराउन सफल भएको बताइन् ।
ईपीएलका म्यानेजिङ डाइरेक्टर आमिर अख्तरले गेललाई समावेश गराउँदा नेपाली क्रिकेटले पनि लाभ लिने बताए । ‘उनले नेपालको आइकनिक ठाउँको भ्रमण गर्नेछन् । सम्भवत उनले नेपालको बारेमा ट्वीट गर्नेछन् र उनले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्’, अख्तरले भने ।
गेलले नेपालमा कति खेल खेल्ने भन्ने आधिकारिक सूचना प्राप्त भने नभएको टिमका मालिक अग्रवालले बताएकी छन् । गेलसँगको सम्झौता रकमसमेत खुलाइएको छैन ।
प्रकाशित समय १८:४६ बजे

















