गृहपृष्ठ सीपीएल आजदेखि सुरु, सन्दीपले भोलि खेल्ने

सीपीएल आजदेखि सुरु, सन्दीपले भोलि खेल्ने

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७ः४५ बजेदेखि सीपीएल सुरु हुनेछ ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन् । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।

सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमार्फत टोबागो पुगेका थिए । यसबीच सन्दीपले दुईपटक पीसीआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सीपीएल खेल्ने बाटो खुला भएको हो ।

यस यामको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सीपीएल भदौ २५ गतेसम्म चल्ने छ । सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कूल ३३ खेल हुने छन् ।

कोरोनाभाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु