गृहपृष्ठ बिग बास खेल्न अस्ट्रेलिया जाने तयारीमा सन्दीप
बिग बास खेल्न अस्ट्रेलिया जाने तयारीमा सन्दीप
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अस्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका सन्दीप मंगलबार कतार एयरवेजबाट अस्ट्रेलिया जानेछन् ।
अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टिनमा बस्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसपटक सन्दीप होबार्ट हुरिकन्सबाट बिग बास खेल्दै छन् । यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दसौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भइसकेको छ । पहिलो खेलमा सन्दीप आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।
क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सन्दीपले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । यसअघि सन्दीपले साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए । ट्रिनिडाड एन्ड टोबागोमा भएको सिपिएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए । सिपिएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आइपिएल)मा सहभागी भए । दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले यसपटक आइपीएलमा कुनै पनि खेल खेल्ने अवसर पाएनन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि सन्दीप कोरोनाबाट संक्रमित भए । हाल उनी कोरोनामुक्त भइसकेका छन् । (रासस)
प्रकाशित समय १८:४४ बजे

















