गृहपृष्ठ पोर्चुगिज सुपरस्टार क्रिस्टियानो २१औं शताब्दीको उत्कृष्ट खेलाडी घोषित

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो २१औं शताब्दीको उत्कृष्ट खेलाडी घोषित

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले लिओनल मेस्सी, मोहम्मद सलाह र रोनाल्डिन्होलाई पछि पार्दै ‘प्लेअर अफ दि सेन्चुरी’को अवार्ड जितेका छन् ।

रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् । उनले भनेका छन्, ‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो । धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु । यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’

‘सर्वश्रेष्ठ नाम पाउनु ठूलो सम्मान हो । म आशा गर्छु कि, अहिलेको अवस्था अर्को वर्ष सकिनेछ र हामी रमाइलो गर्न सक्दछौं । धेरै धेरै धन्यवाद । म अझै पनि अझ धेरै वर्ष खेल्न सक्षम हुने आशा गर्दछु,’ उनले भनेका छन् ।

यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले ‘उत्कृष्ट प्रशिक्षक’को अवार्ड जिते । त्यस्तै बायर्नले ‘क्लब अफ दि इअर’को अवार्ड जिते ।

स्पेनका दुई खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले ‘प्लेअर करियर अवार्ड’ प्राप्त गरेका छन् । स्पानिस क्लब रियल मड्रिड ‘क्लब अफ दि सेन्चुरी’ र पेप ग्वार्ढिओला ‘कोच अफ दि सेन्चुरी’ घोषित भएका छन् ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु