गृहपृष्ठ प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश- १ ले हासिल गर्‍यो उपाधि

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश- १ ले हासिल गर्‍यो उपाधि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश- १ ले हासिल गरेको छ। दाङको लमहीमा आइतबार भएको फाइनलमा प्रदेश १ ले एपीएफलाई ६ रनले पराजित गर्‍यो । विजेता प्रदेश १ ले नगद पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

टस जितेर प्रदेश- १ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै प्रदेश १ ले १०५ रन बनाएको थियो । प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन् । यस्तै निशा शाहले ५, रोमा थापाले ३ र संगीता राईले दुई रन बनाइन् । बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन् ।

१ सय ६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ९९ रनमा सीमित बन्यो । एपीएफका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६, ज्योति पाण्डेले १४, इन्दु बर्माले ७, सरिता मगरले ६, सीता राना मगरले २, रेखा रावल र सोनु खड्काले एक/एक रनको योगदान दिइन् । प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई/दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन् ।

शनिबार भएको सेमिफाइनलमा प्रदेश- १ ले लुम्बिनीलाई र एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । गत पुस ११ मा सुरू प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफ सहभागी थिए ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु