गृहपृष्ठ सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘प्लाटिनम श्रेणी’मा

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘प्लाटिनम श्रेणी’मा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पीएसएलले मंगलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महँगो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ ।

पीएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमान लगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।

पीएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पीएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पीएसएल खेलेका थिए । उनी हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।

प्रकाशित समय १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु