गृहपृष्ठ एन्फाको साधारणसभा सुरु, तीन जिल्लालाई सदस्यता दिन प्रस्ताव
एन्फाको साधारणसभा सुरु, तीन जिल्लालाई सदस्यता दिन प्रस्ताव
अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आजदेखि सुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारण सभामा प्रस्ताव प्रस्तुत गरेको छ । साधारण सभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको संख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ ।
एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही गरेको हो ।
एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो । आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासंघ (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी)मा समेत उजुरी दिएका थिए । एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारण सभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिए ।
प्रकाशित समय १२:३१ बजे

















