गृहपृष्ठ अब मेगा बैंकबाट ‘विच्याट-पे’ भुक्तानी सेवा
अब मेगा बैंकबाट ‘विच्याट-पे’ भुक्तानी सेवा
मेगा बैंकले चीनको प्रख्यात ‘विच्याट-पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘विच्याट-पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीले अब विभिन्न सामग्री तथा सेवाका लागि ‘विच्याट-पे’मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा बर्सेनि लाखौं चिनियाँ पर्यटक आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘विच्याट-पे’मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटक लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।
प्रकाशित समय १२:२४ बजे

















