गृहपृष्ठ टि १० मा सोमपालको उत्कृष्ट प्रदर्शन

टि १० मा सोमपालको उत्कृष्ट प्रदर्शन

नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (यूएई )को आबुधाबीमा जारी  टि १० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडिएटर्सविरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले एउटै ओभरमा दुई विकेट लिएका हुन् ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिए । व्यक्तिगत पहिलो ओभरमा उनले दुई रन खर्चिए । दुई ओभर बलिङ गरेका कामीले १० रनमात्र दिए । जारी टी १० लिगमा हालसम्म ६ खेलमा उनले तीन विकेट लिएका छन् ।

यूएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा छन् । मल्लले आबुधाबी र केसीले पुने डेभिल्सबाट प्रतियोगिता खेलिरहेका छन् ।

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु