गृहपृष्ठ पोर्चुगल र स्पेनबीच ३–३ गोलको बराबरी

पोर्चुगल र स्पेनबीच ३–३ गोलको बराबरी

रोनाल्डोको पेनाल्टी र कोस्टाको काउन्टर अट्याक

विश्वकपअन्तर्गत गएराति भएको पोर्चुगल र स्पेनबीचको खेल दर्शकले फाइनलजस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक महशुस गरे । खेलको अधिकांश समय स्पेनिस खेलाडीको खुट्टामा बल अडिएपनि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बललाई तीनपटक जाली चुमाइछाडे ।

रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध समूह बी को खेलमा पोर्चुगल एक अंक बटुल्न सफल भयो । खेलमा अग्रता समेत दिलाएका रोनाल्डोले एक गोल पेनाल्टीबाट, एक गोल काउन्टर एट्याक र अर्को गोल फ्री किकबाट गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो गोल तेस्रो मिनेटमा गरेका रोनाल्डोले खेलको ८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् । स्पेनको डी बक्स भन्दा केही मिटर बाहिरबाट हानेको फ्री किक बल स्पेनी किपर डेभिड डेयालाई झुक्याउँदै जाली चुम्न पुगेको हो ।

दोस्रो हाफको ५५ औँ मिनेटमा डिएगो कोस्टाले स्पेनका लागि गोल गरेका थिए । त्यसपछि नाचोले ५८ औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । कोस्टाले यसअघि २४ औँ मिनेटमा पनि गोल गरेका थिए ।

त्यसअघि रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदै गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गरेका रोनाल्डोले खेलको ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगोललाई २–१ को अग्रता दिलाएका थिए ।

४४ औँ मिनेटमा रोनाल्डोले डी बक्स नजिकैबाट हानेको शक्तिशाली प्रहार स्पेनका किपर डेभिड डेयाको हातमा लागेर टाङ्गमुनिबाट छिरेर जालीमा पुगेको थियो । यो खेलको गोलसँगै रोनाल्डो पोर्चुगलबाट चार विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि भएका छन् ।

पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका थिए । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए ।

पोर्चुगलले स्पेनविरुद्ध खेलको तेस्रो मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा सनसनीपूर्ण अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र नाचोले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेका हुन् ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु