गृहपृष्ठ पोखरामा पीपीएल क्रिकेटको तयारी सुरु
पोखरामा पीपीएल क्रिकेटको तयारी सुरु
कप्तान पारस भन्छन्- क्रिकेटका लागि पोखराजति सुन्दर ठाउँ विश्वमै छैन
पोखरामा पहिलोपटक हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा गरी आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगिताको तयारी सुरु भएको जानकारी गराएका हुन् । पीपीएल कात्तिक ९ देखि २० गतेसम्म हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा पोखरासहित काठमाडौं, बुटवल, चितवन, धनगढी, नेपालगन्ज र विराटनगर गरी ६ वटा ‘फ्रेन्चाइज’ टिमले भाग लिने प्रबन्ध निर्देशक लामाले जानकारी दिए । प्रतियोगिताका लागि पोखरा रंगशालाको क्रिकेट मैदान एक महिनादेखि मर्मतसम्भार भइरहेको छ ।
हरेक टिममा दुई–दुई जना स्थानीय तथा विदेशी खेलाडी अनिवार्य गरिएको छ । ‘हामीले पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको क्रिकेट खेलको विकास र विस्तारका लागि पहिलो प्रयासमा पोखरामा प्रतियोगिता गर्न लागेका हौं,’ उनले भने, ‘नेदरल्यान्ड्स, यूएई, हङकङ जस्ता बलिया देशका राष्ट्रिय खेलाडी पनि पीपीएलमा आबद्ध हुन चाहेका छन् ।’
हाल पोखरा क्रिकेट मैदानको मर्मतसम्भारअन्तर्गत लेभलिङको काम भइरहेको छ । त्यसपछि घाँस रोपेर हरियो बनाइने लामाले बताए । रंगशालामा साढे ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिटसमेत निर्माण गरिनेछ । विजेताले २५ लाखभन्दा बढी पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने निर्देशक लामाले बताए ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले समग्र क्रिकेट खेलको विकास हुने गरी पोखरामा पीपीएल हुनुले समग्र क्रिकेट खेलाडी उत्साहित भएको बताए । ‘अब हामीले प्रश्नमात्र गरेर बस्ने होइन, हामी सबै जुटेर खेलकुदमा लाग्नुपर्छ, नेपाली क्रिकेटले विस्तारै गति लिँदै छ,’ उनले भने, ‘यसमा सबैको साथ पाए अवश्य हामीले धेरै गर्न सक्छौं, यसमा सबै सकरात्मक हुनु पर्छ, पीपीएलले नेपालको क्रिकेटमा नयाँ ऊर्जा पक्कै थप्नेछ ।’ क्रिकेट खेल्दा माछापुच्छ्रे हिमालको छायाँ देखिने पोखरा जति सुन्दर ठाउँ विश्वमै काहीँ नभएको कप्तान खड्काले बताए ।
नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नेपालले १० वर्षभित्र टेस्ट खेल्ने लक्ष्यका साथ क्रिकेट खेलको तल्लो स्तरबाटै विकास र विस्तार हुनुपर्ने बताए । ‘तर काठमाडौंको त्रिवि मैदानबाहेक पूर्वाधार सम्पन्न अन्य मैदान नहुनु दुखद छ,’ उनले भने ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरालाई खेल पर्यटनको विकास गर्न चाहेको अवस्थामा पीपीएलले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पीपीएलले पोखराको खेलकुदमा तरंग थपेको बताए ।
प्रकाशित समय १९:०५ बजे

















