गृहपृष्ठ १२औं काठमाडौं म्याराथन असोजमा
१२औं काठमाडौं म्याराथन असोजमा
संसारमा ठूला सहरको नाममा हुने म्याराथन जस्तै काठमाडौं म्याराथनको १२औं संस्करण २० असोजमा हुने भएको छ । विगत ११ वर्षदेखि निरन्तर हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको काठमाडौं म्याराथन हुने प्रमुख आयोजक एवं नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठले बताएका हुन् ।
यसपटकको म्याराथनलाई बृहत बनाउने उद्देश्यअनुरुप स्पोर्टस् एक्स्पो २०१८ पनि आयोजना गर्ने भएको छ । एक्स्पो भने १८ देखि २० असोजसम्म दशरथ रंगशालाभित्र आयोजना गरिने भएको छ ।
यसपटक म्याराथनमा एकदेखि १० सम्म हुने प्रतिस्पर्धीलाई दिइने पुरस्कारमा कटौती गरिएको छ । यसपटक पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ दिइनेछ । महिला र पुरुष दुवै विधामा यो पुरस्कार दिइनेछ ।
कर्पोरेट म्याराथन रिलेमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । त्यस्तै, अहिलेसम्म कायम रहेको दुई घण्टा २१ मिनेटको काठमाडौं म्याराथनको रेकर्ड ब्रेक गर्नेलाई थप एक लाख रुपैयाँ दिइने श्रेष्ठले बताए ।
अन्य हाफ म्याराथन महिला तथा पुरुषमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, पाँच किलोमिटरको महिला पुरुषमा १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, ५ किलोमिटर भेट्रान, ५ किलोमिटर स्कुल र तीन किलोमिटर ह्विलचेयर प्रतियोगिताका विजयी महिला पुरुषलाई पनि १० हजार, ५ हजार र ३ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
म्याराथनको माध्यमबाट जनस्वास्थ्यबारे जनचेतना अभिवृद्धि गराउने रहेको छ । नेपालमा खेलकुद पर्यटनको विकास तथा विस्तार गर्ने एक्स्पोको उद्देश्य छ । खेलकुद क्षेत्रलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने एक्स्पोको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलामा २५ हजारले अवलोकन गर्ने आयोजकले बताएको छ ।
प्रकाशित समय १८:३० बजे

















