गृहपृष्ठ एसिया कप छनोट : दोस्रो खेलमा नेपाल ७८ रनले पराजित
एसिया कप छनोट : दोस्रो खेलमा नेपाल ७८ रनले पराजित
एसिया कप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । पहिलो खेलमा ओमनसँग ७ विकेटले हारेको नेपालले बिहीबार ७८ रनले पराजित हुँदै यूएर्इलार्इ नतिजा सुम्पिएको हो ।
यूएईसँगको हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।
यूएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले सात बल बाँकी छँदै सबै विकेट गुमाएर १७६ रनमात्रै बनायो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४ तथा सागर पुन र आरिफ शेख समान तीन/तीन रनमा आउट भए । सोमपालले अविजित २७ र वसन्तले १२ रन बनाए ।
बलिङतर्फ यूएईका अहमद राजाले चार र मोहम्मद नभिदले तीन विकेट लिए । यसअघि, मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
सन्दीपले राम्रो बलिङ गरेका थिए । १० ओभर बलिङ गरेका उनले दुर्इ ओभर मेडन राख्दै २४ रन खर्चेर चार विकेट लिएका थिए । त्यस्तै, वसन्त रेग्मी र सोमपाल कामीले दुर्इ-दुर्इ विकेट लिए ।
लगातार दोस्रो हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । नेपालले बाँकी तीन खेल मलेसिया, सिंगापुर र हङकङसँग खेल्नुपर्नेछ । बाँकी तीनवटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ । यूएई र ओमान दुबैले बाँकी खेल लगातार हार व्यहोरेमात्र एसिया कपमा नेपालको सम्भावना रहनेछ ।
प्रकाशित समय १७:०२ बजे

















