गृहपृष्ठ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि
सांकेतिक तस्बिर
नेपाल भलिबल संघको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि बागलुङको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करीब रु २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले रु आठ लाख, गलकोट सेवा समाज जापानले रु दुई लाख ५० हजार उपलब्ध गराएको छ ।
अन्य निकाय, संघसंस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ । शुरुमा नेपाल भलिबल संघले खेल सामग्री र नगद रु एक लाख जिल्ला संघलाई प्रदान गरेको थियो । ‘प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ’, अध्यक्ष श्रीसले भने, ‘खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’
प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल संघले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेता टिमले रु ५० हजार, उपविजेताले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । गलकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडी, प्रशिक्षक र टिमका पदाधिकारी गलकोट पुगिसकेका छन् । पहिलोपटक सदरमुकाम बाहिर राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको हो ।
(रासस)
प्रकाशित समय १३:०० बजे

















