गृहपृष्ठ टी–ट्वान्टी विश्वकप छनोट : नेपालले भुटानलाई ११७ रनले हरायो, नेपाल एसिया छनोटको फाइनल चरणमा

टी–ट्वान्टी विश्वकप छनोट : नेपालले भुटानलाई ११७ रनले हरायो, नेपाल एसिया छनोटको फाइनल चरणमा

nepali-cricket-newskarobar फाइल तस्बिर

टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया उपक्षेत्रीय छनोटअन्तर्गतको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको छ । यो सँगै नेपाल दुई खेलअगाडि नै एसिया छनोटको फाइनल चरणमा पुगेको छ ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन जोड्न सक्यो । भुटानका लागि तेन्जिङ वाङचुकले मात्र दोहोरो रन जोड्न सके । उनले ११ रन जोडे । नेपालका लागि ललित राजबंशीले सुरुवाती दुई विकेट लिदै सुखद् सुरुवात गरेका थिए । उनले चार ओभरमा दुई मेडन राख्दै ३ विकेट लिए । सन्दीप लामिछानेले ३, बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेस्वाकरले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन जोडेको थियो । नेपालका लागि प्रदिपसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे । उनी नटआउट रहे । अनलिकुमार साहले २७ रन जोडे । यस्तै दिपेन्द्रसिंह ऐरीे १५, आरिफ शेखले १३ रन बनाए । करण केसी ११ रन बनाउदै नट आउट रहे ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा थाइल्यान्डलाई भने १४० रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रतियोगिताका शीर्ष ३ टोली टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् ।

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु