गृहपृष्ठ प्याराग्लाइडिङ वर्ल्ड कपमा कोरिया अग्रस्थानमा
प्याराग्लाइडिङ वर्ल्ड कपमा कोरिया अग्रस्थानमा
समूहतर्फ नेपाल तेस्रो स्थानमा
कोरिया प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वर्ल्डकप २०१८ को उपाधिनजिक पुगेको छ । दुई दिनको खेलमा पाँच राउन्ड पूरा गर्दा कोरिया अग्र स्थानमा रहन सफल भएको हो ।
खुला एकल तथा समूह चरणको खेलमा समेत वचश्र्व जमाउन सफल कोरियाले प्रतियोगितामा तीनवटा स्वर्ण पदक जित्ने सम्भावना बढेको छ । शनिबार भएको तीन राउन्डको खेलमा स्लोभानियालाई पछि पार्दै कोरिया अग्रस्थानमा आउन सफल भएको हो ।
खुलातर्फको इभेन्टमा पहिलो दिनको दुई राउन्डको खेलमा कोरियासँग समान पाँच अंक ल्याउँदै अग्रस्थानमा रहेको स्लोभानिया दोस्रो दिनको खेलमा चौथो स्थानमा रह्यो । पहिलोदेखि तेस्रो स्थानसम्म कोरियाले आफ्नो वचश्र्व जमाउन सफल भएको छ ।
स्याङ्जाको स्वरेक मैदान (भीरकोट) बाट उडान गरी वालिङको डौंवाफाँटमा
अवतरण गरेका कोरियाका स्याङज्यु लिमले पाँच राउन्डको खेलमा १० अंक ल्याउँदै अग्र स्थानमा आउन सफल भएका हुन् । पाँच राउन्डको खेलमा कोरियाका किम कि हेवन ११ अंकका साथ दोस्रो स्थानमा छन् । उनी पहिलो दिनको खेलमा भने सातौं स्थानमा थिए ।
त्यसैगरी, पहिलो दिनको खेलमा चौथो स्थानमा रहेका कोरियन खेलाडी जीहुन यो दोस्रो दिनको खेलसम्म आउँदा १३ अंकका साथ तेस्रो स्थानमा छन् । पहिलो दिनको दुई राउन्डको खेलमा अग्रस्थान रहेका स्लोभानियाका प्रि–लोजुक रोक दोस्रो दिनको खेलसहित हाल चौथो स्थानमा झरेका छन् । उनले १४ अंक ल्याएका छन् । एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी युकेश गुरुङ खुलातर्फको इभेन्टमा २८ अंकका साथमा १०औं स्थानमा छन् ।
दोस्रो दिनसम्म पाँच राउन्डको खेलमा महिलातर्फ अग्रस्थानमा कोरियाकै खेलाडीको वर्चश्व छ । कोरियाका योनह्याङ चो ले २३ अंकका साथ अग्रस्थानमा रहेकी हुन् । पहिलो दिनको खेलमा पनि उनी नौ अंकका साथमा पहिलो स्थानमा थिइन् । ४३ अंकका साथ कोरियन खेलाडी इनसुक काङ दोस्रो र ५० अंकका साथमा हुनहि किम तेस्रो स्थानमा रहेकी छन् ।
भारतकी गीता रेजकी गुण्टरी २ सय २ अंकको साथमा चौथो स्थानमा रहँदा नेपाली खेलाडी तृषा श्रेष्ठ बम्जन ७ सय ६४ अंकका साथमा पाँचौं स्थानमा रहेकी हुन् ।
त्यस्तै, पुरुष टिमतर्फ हालसम्म कोरिया प्रथम र दोस्रो स्थानमा रहँदा नेपालले तेस्रो स्थानमा छ । कोरियाले १ सय ५१ अंकका साथ अग्रस्थान, २ सय ५४ अंकका साथमा दोस्रो र २ सय ७० अंकका साथमा नेपाल तेस्रो स्थानमा छ । आइतबार एक राउन्डको खेलसँगै प्रतियोगिता समापन हुने अपिसियल बालकृष्ण बसेलले जानकारी दिए ।
प्रतियोगितामा २१ देशका एक सय २० प्याराग्लाइडिङ पाइलटले नाम दर्ता गराए पनि १८ देशका ७० जना खेलाडीले मात्र सहभागिता जनाएका छन् ।
प्रकाशित समय ०७:०९ बजे

















