गृहपृष्ठ कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
जाजरकोट । यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । नलगाड नगरपालिकाका अधिकांश शिक्षक र कर्मचारीका छोराछोरी महँगा निजी विद्यालयमा भर्ना गरी पढिरहेका छन् ।
नगरपालिकाले सबै विद्यालयमा पत्राचार गरी छिटो भर्ना गर्न अनुरोध गरेको छ । हुनेखानेले निजी र गरीबले मात्र सरकारीमा पनि धौधौ गरी पढाउने समस्यालाई हल गर्न यस्तो नीति अवलम्बन गरिएको हो ।
शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने रावलले बताए । शिक्षकले सरकारी विद्यालयमा पढाउने, तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेको उनको भनाइ छ ।
अधिकांश शिक्षकका छोराछोरी निजीमा पढाउने तर परीक्षा सरकारी विद्यालयमा ल्याएर गराउँदा सरकारी विद्यालयमा पढ्ने बालबालिकाको मनोबल कमजोर हुने भएकाले यसको अन्त्य गरिने रावलको भनाइ छ ।
प्रकाशित समय १०:१३ बजे