गृहपृष्ठ थ्री स्टार क्लब खप्तड गोल्ड कपको फाइनलमा

थ्री स्टार क्लब खप्तड गोल्ड कपको फाइनलमा

football-newskarobar

मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोलले हराउँदै थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलको ६९औँ मिनेटमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा रुपेश केसीले गोल गरी थ्री स्टारलाई अग्रता दिलाए । ८०औँ मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्योे । सुनील बलले डि बक्स एरिया बाहिर प्राप्त गरेको फ्रि किकलाई गोलमा परिणत गरेका थिए ।

थ्री स्टारका लागि १४औँ मिनेटमा सुनील बलको कर्नरमा अडामा डुम्बियाले गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । २१औँ मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार असफल बन्यो ।

दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारको रुपेश केसीको प्रहारलाई विपक्षी गोलरक्षक दीप कार्कीले बचाए । अर्कोतर्फ काँकडभिट्टाका एञ्जल गुरुङको प्रहार अकाशिन पुग्यो । काँकडभिट्टाले यसअघि पनि गोल गर्न पाएका केही मौका चुकाएको थियो ।

उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको ‘म्यान अफ द म्याच’ बन्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्वल मानन्धरले लिगको पीडा बिर्साउन मोफसलमा सुखद शुरुआत गर्न तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।

यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल अगामी शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनल सिएमजी क्लब संकटा र नेपाल पुलिस क्लबबीच हुँदैछ ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु