गृहपृष्ठ १३ साग : पाेखरामा ट्रायथलनको तयारी अन्तिम चरणमा

१३ साग : पाेखरामा ट्रायथलनको तयारी अन्तिम चरणमा

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी अन्तिम चरणमा पुगेको हो ।

ट्रायथलन अन्तरगतको पौडीका लागि अन्तिम तयारी भईरहेको, साईकिलिङ र दौडका लागि कुनै समस्या नरहेको कास्की जिल्ला ट्रायथलन संघका सचिव प्रकाश बराल बताउँछन् ।

बिहीबार फेवातालमा पौडीका लागि सुरुवाती विन्दुका लागि प्लास्टिकका ब्लक हाल्ने काम सम्पन्न भएको छ । अबको २ दिनमा सबै तयारी पूर्ण रुपमा सकिने ट्रायथलनका लागि टेक्निकल ग्रुपका ईन्चार्ज आशिस कुलले बताए । उनी भन्छन्– ‘पौडीको अन्तिम विन्दुको काम बाहेक अन्य काम सबै सकिएको छ । यो पनि छिट्टै सकिन्छ ।’

पुरुष र महिला दुवै विधामा सञ्चालन हुने ट्रायथलनमा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका गरी ३ देशका २८ खेलाडी र ८ अफिसियल गरी ३६ जनाको सहभागिता रहने भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुने समेत सचिव बरालले जानकारी दिए ।

मंसिर १५ देखि २४ गतेसम्म १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का ८ वटा खेलहरु पोखरामा हुन लागेको हो । ८ खेलमध्ये ट्रायथोलन खेल पनि एक हो । पौडी, साईकलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्य रुपमा सम्पन्न गर्न सम्वन्धित निकाय तीव्र रुपमा लागिरहेका छन् ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु