गृहपृष्ठ उपनिर्वाचन २०७६ : विराटनगरमा विवाद उत्पन्न भएपछि सर्वदलीय बैठक

उपनिर्वाचन २०७६ : विराटनगरमा विवाद उत्पन्न भएपछि सर्वदलीय बैठक

शनिबार हुने धनपालथान–२ को निर्वाचनमा मतदातालाई प्रभावित पार्ने गतिविधिका कारण विवाद उत्पन्न भएपछि शुक्रबार साँझ सर्वदलीय बैठक बसेको छ । मतदातालाई प्रभावित पार्न करीब अन्दाजी ६० केजी माछा वितरण गर्ने तयारी गर्दैै गरेको अवस्थामा फेला परेपछि विवाद उत्पन्न भएको थियो ।

मौन अवधि जारी रहेकै बेला मोरङको धनपालथान–२ मा कांग्रेस कार्यकर्ताहरुले ६० केजी माछा स्थानीयलाई बाँड्न लागेको चाल पाएपछि नेकपा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए ।

सोही विषयलाई लिएर नेकपा र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो । मौन अवधीमा दलहरुले आचारसंहिता विपरीत गतिविधि गरेपछि निर्वाचन आयोगले सर्वदलीय बैठक डाकेको थियो । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने सहमति भएको नेकपा केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जानकारी दिए ।

बैठकमा भोली हुने निर्वचन अवधिभर अति आवश्यक काम बाहेक कुनै पनि सवारी साधन ओहोरदोहोर नगर्ने, मतदान प्रक्रिया, मतगणना र विजयी र्‍यालीसम्म आचारसंहिता पूर्ण रुपले पालना गर्ने, नियन्त्रणमा रहेको माछा विक्री वितरणका लागि सम्बन्धितलाई दिने र निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सहमति भएको मण्डलले बताए ।

बैठकमा मण्डले निर्वाचन निस्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह गरे । उनले नेकपा कार्यकर्तालाई संयमता अपनाउन र निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्नमा सहयोग पुर्‍याउन आग्रहसमेत गरेका छन् । धनपालथान–२ मा वडाध्यक्षको निधन भएका कारण रिक्त रहेको सो पदमा निर्वाचन हुन लागेको हो ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु