गृहपृष्ठ महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी
महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो । भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो ।
टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र ईन्दु वर्माले १० रन जोडे पनि अन्य व्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले ५, सीता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।
प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण ४ विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १÷१ विकेट लिन सफल भए ।
५१ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बंगलादेशले कुनै पनि विकेट नगुमाई ७.४ ओभरमै जित निकाल्यो । बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले ३ चौका तथा २४ बल सामना गरेकी खातुनले ४ चौका प्रहार गरिन् ।
बुधबारको अर्को खेलमा श्रीलंकाले कमजोर माल्दिभ्समाथि २ सय २४ रनको जित निकालेको हो । पहिला व्याटिङ गर्दै श्रीलंकाले २ विकेटको क्षतिमा २० ओभरमा २ सय ७९ रनको विशाल योगफल तयार पारेको थियो ।
श्रीलंकाका तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १ सय ६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा ३ छक्कार र १५ चौका प्रहार गरिन् । शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् उनले ४८ बलमा ३ छक्का ११ चौका प्रहार गरेकी थिइन् ।
माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल जोड्न समेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले ५÷५ रन बनाए ।
बंगलादेशको वलिङतर्फ अज अनलीले ३, संदिपनीले २ तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान १–१ विकेट लिए ।
योसँगै राउण्ड रोविन लिगका सबै टिमले दुई दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बंगलादेश ४ अंक सहित शीर्षस्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल २ अंक सहित दोश्रो स्थानमा रहेको छ ।
समान २ अंक जोडे पनि श्रीलंका तेश्रो स्थानमा छ भने कुनै पनि जित ननिकालेको माल्दिभ्स पछाडि रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि सुरु हुने खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुनेछन् ।
प्रकाशित समय ०९:१५ बजे

















