गृहपृष्ठ भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण जितेको हो । साग फुटबलमा नेपालको यो लगातार दोस्रो उपाधि हो । नेपालले पछिल्लो पटक सन् २०१६ मा भारतमा भएको १२औं सागमा घरेलु टोलीलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।

मंगलबार दशरथ रंगशालामा भएकाे फाइनलमा खेलको १६औं मिनेटमै अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्छेनले ३७औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको साताैँ मिनेटमा सुनील बलले एक गोल थप्दै नेपालको स्वर्ण सुनिश्चित गरे । साग पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।

समूह चरण खेलमा नेपालले ४ खेलबाट १० अंक हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिस्पर्धा भएको हो । अघिल्लो समूह चरणको खेलमा नेपालले भुटानमाथि ४-० को जित हासिल गरेको थियो ।

फुटबलमा नेपालको यो कीर्तिमानी स्वर्ण हो । लगातार दुई संस्करणमा साग फुटबलमा स्वर्ण जित्ने देशको सूचीमा भारत र पाकिस्तानसँगै नेपाल पनि आएको छ । साथै साग फुटबलमा पाकिस्तान बनाएको चार स्वर्णको रेकर्ड भेट्टाएको छ ।

सन् १९९४ मा काठमाडाैँमा भएकाे पहिलो संस्करणमै फुटबलको स्वर्ण जितेको नेपालले १९९३ मा छैटौ संस्करणमा पनि स्वर्ण जितेको थियो ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु