गृहपृष्ठ कोरोनामा स्वासप्रस्वास शिष्टाचार र हातको स्वच्छता
कोरोनामा स्वासप्रस्वास शिष्टाचार र हातको स्वच्छता
चीनको वुहान प्रान्तमा डिसेम्बर ३१ अर्थात् पुस १५ गते पहिलोपटक पहिचान भएको नोवेल कोरोनाभाइरस (कोभिड १९)ले अहिले विश्वलाई त्राहिमाम बनाएको छ । विश्वभर करिब २० हजार जनाको ज्यान लिइसकेको कोरोना उद्गम देश चीनमा नियन्त्रणमा आइसक्दा संसारकै सम्पन्न भूगोल युरोप र अमेरिकाबासी त्रासद जीवन बिताइरहेका छन् । विश्वलाई आफ्नै खुलामञ्च बनाउन खोज्ने यहाँका बासिन्दा घरभित्र नजरबन्दमा छन् ।
पश्चिमी देश इटालीमा जनवरी १९ मा पहिलोपटक कोरोना देखियो । फैलने क्रम र मृत्युवरणको दर पनि अहिले त्यहीँ उच्च छ । बुधबार दिउँसोसम्ममा विश्वभर १८ हजार ९०७ जनाको कोरोनाबाट मृत्यु भइसक्दा १९२ देशका करिब ४ लाख मानिस संक्रमित छन् भने १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् ।
विश्वका सम्पन्नशाली देशहरु पीडामा छटपटाउँदै गर्दा कोरोनाको उद्गम देश चीनसँग सीमा जोडिएको नेपाल अहिलेसम्म सुरक्षित देखिएको छ । जबकि, चीनमा तीव्रगतिमा फैलिरहेका बेला नेपाललाई सीमा जोडिएको हिसाबले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उच्च जोखिममा राख्यो । खुसीको कुरा, बुधबारसम्म नेपालमा तीन जनामा मात्र कोरोना संक्रमण पहिचान भएको छ भने एक जना उपचारपछि धेरै अघि घर फर्किसकेका छन् ।
सरकारले आफ्नो बर्गतले भ्याएसम्म सुरक्षाका उच्चतम उपाय अपनाउँदै गर्दा नेपाली जनता भने निकै भयभीत देखिएका छन् । कतिपयलाई मास्क नभएको चिन्ता छ भने कतिपयलाई कसरी ज्यान जोगाउने भन्ने चिन्ता छ । चैत ११ गतेदेखि लागू हुने गरी सरकारले लकडाउन गरेपछि नेपालीजनमा झनै अत्यास बढेको पाइन्छ ।
यसै सेरोफेरोमा कोरोनाबाट बच्न मास्क कति प्रभावकारी छ ? अथवा, योभन्दा प्रभावकारी उपाय अरु नै छन् त ? यिनै विषयमा आफ्नो धारणा राख्दैछु ।
स्वस्थ व्यक्तिले मास्क लगाउनै पर्दैन
काठमाडौंमा धुलोधुँवाबाट बच्न विगतदेखि नै मानिसहरूले मास्क लगाउने गरेको पाइन्छ । अहिले कोरोना संक्रमण बढेका बेला मास्कको हाहाकार नै भयो । सरकारले लकडाउन गरेपछि घरमै बस्दा पनि मास्क लगाउने गरेको पाइन्छ । तर, हामीले लगाइरहेको मास्क कस्तो छ र कति गुणस्तरको छ भन्नेमा भने ध्यान दिइएको पाइँदैन । अझ कतिपयले त कपडाका मास्क निरन्तर लगाइरहेको पाइन्छ । जबकि, जीवाणु त के कपडाको मास्कले धुलोका कण पनि रोक्दैन ।
पहिलो कुरा त स्वस्थ व्यक्तिले मास्क लगाएर हिँड्नुपर्ने आवश्यकता नै पर्दैन । स्वस्थ व्यक्तिले मास्क प्रयोग गर्दा भाइरसबाट बच्न सकिन्छ भन्ने हालसम्म कुनै पनि प्रमाण नभएकाले विज्ञहरुले स्वस्थ व्यक्तिलाई मास्क लगाउन सिफारिस नै गर्दैनन् । रोगको रोकथाम र नियन्त्रणका लागि युरोपियन केन्द्रको निर्देशिकामा पनि स्वस्थ व्यक्तिले मास्क लगाउनुको कुनै अर्थ नै नभएको उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले पनि कुनै पनि स्वस्थ व्यक्ति या कोभिड १९ को लक्षण भएको व्यक्तिको हेरचार गरिरहेको व्यक्तिबाहेक कसैले मास्क प्रयोग गर्नु पर्दैन भनेर स्पष्ट भनेको छ ।
मास्कको बारेमा विश्व स्वास्थ्य संगठनका सुझाव :
० स्वस्थ हुनुहुन्छ भने मास्क प्रयोग गर्न आवश्यक छैन ।
० स्वस्थ हुनुहुन्छ तर कोभिड १९ भएको संदिग्ध वा पुष्टि भएको व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ वा तपाईंलाई खोकी वा हाच्छ्युँ आइरहेको छ भने भने मास्क लगाउनुपर्छ ।
० मास्क लगाउनुहुन्छ भने कसरी लगाउने र कहिले फाल्ने भन्ने थाहा हुनुपर्छ । जस्तैः सर्जिकल मास्क लगाउनुभएको छ भने एकपटक खोकेपछि वा हाच्छ्युँ गरेपछि उक्त मास्क फोहोर फाल्ने ठाउँमा फाल्नुपर्छ ।
मास्क कस्ले लगाउने ?
विश्व स्वास्थ्य संगठनले भनेजस्तै मास्क कोभिड १९ को लक्षण भएको व्यक्ति वा लक्षण भएको व्यक्तिको नजिक जानुपर्ने व्यक्ति (जस्तैः परिवारका सदस्य वा स्वास्थ्यकर्मी)ले प्रयोग गर्नुपर्छ, जसले स्वस्थ व्यक्ति भाइरस संक्रमण हुनबाट बच्न मद्दत पुग्छ । बिरामी या संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा र कुरा गर्दा उछिट्टिनसक्ने थुकलाई रोक्न सक्छ ।
मास्क कोभिड १९ भएको संदिग्ध वा पुष्टि भएको व्यक्तिले लगाउनैपर्छ । किनकि, ऊ परिवारका अन्य सदस्यसँग बोल्नुपर्ने वा नजिक आउनुपर्ने हुनसक्छ । उसलाई चिकित्सा हेरचाहको लागि घरबाट बाहिर निस्कनुपर्ने हुनसक्छ । तर, यहाँ बुझ्नुपर्ने कुरा के छ भने मुखमा मास्क लगाएरमात्र भाइरस संक्रमणबाट बच्न पर्याप्त हुँदैन, यसलाई सधैँ अन्य उपायसँग जोड्नुपर्छ । जस्तैः स्वासप्रस्वास शिष्टाचार र हातको स्वच्छता ।
के हो स्वासप्रस्वास शिष्टाचार ?
विश्व स्वास्थ्य संगठनको चेतावनीलाई मान्ने हो भने जुनसुकै प्रकारको मास्क त्यतिबेला मात्र प्रभाकारी हुन्छ, जतिबेला मास्क लगाएसँगै हामी स्वासप्रस्वास शिष्टाचार पनि पालना गर्छौं ।
स्वासप्रस्वास शिष्टाचार भन्नाले निम्न कुराहरुलाई बुझ्नुपर्छ :
० मास्क लगाएको भए खोकेपछि अथवा हाच्छ्युँ गरेपछि फाल्नुपर्छ । मास्क नलगाएको भए खोक्दा अथवा हाच्छ्युँ गर्दा टिस्यु पेपरले मुख ढाक्नुपर्छ । उक्त टिस्यु पेपर तत्कालै फोहोर फाल्ने ठाउँमा फाल्नुपर्छ र हात साबुनपानीले धुनुपर्छ । सेनिटाइजरले सफा गर्न पनि सकिन्छ ।
० खोक्दा र हाच्छ्युँ गर्दा पाखुरा बंग्याएर (कुहिनोले) मुख र नाक छोप्नुपर्छ । हातमा होइन, पखुरामा खोक्ने र हाच्छ्युँ गर्नुपर्छ ।
यसबाट के बुझिन्छ भने मास्कले भाइरसको प्रसारणलाई रोक्ने होइन । भाइरसको प्रसारणलाई रोक्न स्वासप्रस्वास शिष्टाचारको पालना र हातको स्वच्छतामा ध्यान दिनुपर्छ । मास्क लगाएर पनि स्वासप्रस्वास शिष्टाचार पालना गरिँदैन भने हामी भाइरसको प्रसारणलाई रोक्न असफल हुन्छौं । हामीले जान्नुपर्ने कुरा के पनि छ भने एकपटक मात्र प्रयोग गर्न बनाएका मास्कहरु जस्तैः सर्जिकल मास्क आफैंले अथवा नजिकको व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा वा अन्य कारणले भाइरसको सम्पर्कमा आउनासाथ फोहोर फाल्ने ठाउँमा फाल्नुपर्छ । के हामीले यो पालना गरेको छौं त ! छैनौं भने हाम्रो व्यवहारले हामीलाई भाइरसबाट सुरक्षा होइन, अन्य संक्रमणको जोखिम बढाएको छ ।
हातलाई स्वच्छ कसरी बनाउने ?
हातको स्वच्छता भनेको हात र औंलालाई स्वस्थ राख्न हात धुनु वा सफा गर्नु र हात स्वस्थ राख्न गरिने अन्य कार्यलाई जनाउँछ । हात स्वच्छ राख्न साबुन र पानीले बारम्बार कम्तीमा १५‑२० सेकेन्ड मिच्नुपर्छ ।
कहिले‑कहिले यसरी हात धुने त !
० खाना तयार गर्नुअघि र पछाडि
० खानु अघि र पछि
० शौचालय प्रयोग गरिसकेपछि
० मेडिकल वा अन्य मास्क प्रयोग गर्नुअघि र पछाडि
० फोहोर फालिसकेपछि वा दूषित लुगा धुने काम गरेपछि
० जब हातमा फोहोर लाग्छ ।
साबुन र पानीले हात धुनु हात स्वच्छताको प्राथमिक विधि हो किनभने यो माटो र जीवाणुहरू हटाउन प्रभावकारी हुन्छ । साबुन र पानी उपलब्ध छैन भने अल्कोहलयुक्त ह्यान्ड सेनिटाइजरबाट सफा गर्न सकिन्छ । सेनिटाइजरमा अल्कोहलको मात्रा कम्तीमा ६० प्रतिशत भने हुनुपर्छ । हात नधोइकन कहिले पनि आँखा, नाक र मुख छुनु हुँदैन ।
(लेखक आचार्य क्यानडामा बस्छन् ।)
प्रकाशित समय १०:३१ बजे

















